सुटिङ सकिएपछि आफ्नो धर्म सकिएको ठान्ने परम्परा नेपाली फिल्म क्षेत्रमा नौलो होइन । प्रायः कलाकारदेखि निर्देशकले फिल्मका लागि समय नै दिने नगरेको गुनासो निर्माताहरुको हुने गर्दछ ।
फिल्म 'कहिँ कतै' की निर्मात्री तथा कलाकार उमा बेबी गिरी पनि निर्देशकको बानीबाट आजित भएकी रहेछिन् । बिहीवार राजधानीमा आयोजित फिल्ममा समावेश एक गीत सार्वजनिक कार्यक्रममा उनी निर्देशक सविर श्रेष्ठप्रति आक्रोशित भईन् ।

पटक-पटक फोन गर्दा सविरले आफू बाटोमा रहेको र केही मिनेटमा नै उपस्थित हुने जानकारी दिएका थिए । तर, कार्यक्रम सकिँदासम्म पनि उनी उपस्थित भएनन् । यसपछि उमाको पारो चढ्यो । आफ्नो भनाई राख्ने क्रममा निर्देशकमाथी उनले रिस पोखिन् ।
उनले भनिन्, 'फिल्म राम्रो बन्नमा सबैको हात हुन्छ । निर्देशकको त झन् महत्वपूर्ण भूमिका हुन्छ । तर, सविर जीले पटक-पटक हामीलाई धोका दिनुभएको छ । एकपटक विना कुनै जानकारी सुटिङ सेट नै छाडेर जानुभएको थियो । अहिले फोन गरेर जानकारी दिँदा समेत उपस्थित हुनु भएन ।'
उनले सविरलाई ‘स्वार्थी निर्देशक’ समेत भनिन् । आफू निर्देशित फिल्मको कार्यक्रममा उपस्थित नहुनुको पछाडि के वास्तविकता छ त्यो सविरलाई नै थाहा होला । तर, आफूले निर्देशन गरेको फिल्मलाई बेवास्ता गर्नु त्यो निर्देशकको धर्म भने चाहीँ होइन ।

