वर्ष २०७४ मा सबैभन्दा धेरै पर्दामा आउने नायिका हुन् प्रियंका कार्की । झण्डै आधा दर्जन फिल्म उनका रिलिज भए । कतिले राम्रै विजनेश गरे त कति पत्तासाफ भए । तर, उनी पर्दामा आइरहन भने छाडिनन् ।
अहिले पनि उनी अभिनीत दुई फिल्म हलमा लागिरहेका छन् । 'लिलिबिली' र 'शत्रु गते' ले अझै हल छाडेका छैनन् । यसैबीच यही बैशाख १४ गते उनको आफैंसँग भिडन्त हुँदैछ । २ वर्ष अगाडि नै तयार भएको फिल्म 'ह्याप्पी डेज' पटक-पटक प्रदर्शन मिति सर्दासर्दा यो मितिमा प्रदर्शन हुने कन्फर्म भएको छ ।
उता आफ्नो प्रिय साथी अभिनेत्री केकी अधिकारीले निर्माण गरेको फिल्म 'कोहलपुर एक्सप्रेस' मा पनि उनी प्रमुख भूमिकामा छिन् । यो फिल्म पनि उक्त मितिमा रिलिज हुँदैछ । हुनत यो सबै उनको चाहनाले भएको होइन । मात्र निर्माता-निर्माताबीचको व्यवसायिक द्वन्द्वमा प्रियंका मुछिएकी हुन् ।

यसको बेफाइदा निर्मातालाई त छँदै छ उनलाई पनि कम छैन । एकतिर दुई फिल्म हलमा छन् । आफू अभिनीत अर्का दुई फिल्म एकै मितिमा हल छिर्दैछन् । कुन फिल्मको प्रचारमा हिँड्ने, कसलाई बढी समय दिने, कुन फिल्म हेर्न जान दर्शकलाई आग्रह गर्ने प्रियंका राम्रै सकसमा छिन् ।
यो अवस्थामा पनि उनी कहिले 'ह्याप्पी डेज' को प्रचार गर्न बग्गीमा चढेर शहर घुम्नेदेखि केकीसँग पिज्जा बोकेर 'कोहलपुर एक्सप्रेस' को प्रचार गर्न दर्शकको घर-घर नै पुगिरहेकी छिन् ।
'लिलिबिली' र 'शत्रु गते' ले बक्सअफिसमा राम्रो कलेक्सन गरिरहँदा प्रियंका मख्ख त छिन् तर दर्शक भने दिकदार बनिरहेका छन् । 'चिनी धेरै खाए तितो हुन्छ' भने झैँ हप्तै पिच्छे पर्दामा आइरहँदा प्रियंकाको हकमा पनि यो उखान लागू हुन्छ ।
दर्शकलाई थोरै दिएर मिठो स्वाद दिइरहने वा एकै पटकमा तितो स्वादको अनुभव गराउने त्यो त उनकै हातमा छ । जसरी प्रियंका हरेक साता जसो हल छिरिरहेकी छिन् त्यसले उनको करिअरलाई भने रत्ती फाइदा पुग्ने देखिन्न ।
संख्या बढाउन भन्दा पनि अब गुणस्तरतिर पो ध्यान दिने कि प्रियंका जी ?

