फिल्मप्रति दर्शकको ध्यान खिच्न पछिल्लो समय निर्माताहरुले नयाँ किसिमको प्रचार शैली अपनाउँदै आएका छन् । सोमवार अभिनेत्री प्रियंका कार्की र अभिनेता सञ्जय गुप्ताले बग्गीमा चढेर फिल्म ‘ह्याप्पी डेज’ को प्रचार गरे ।
.jpg)
पटक-पटक प्रदर्शन मिति सर्दै अन्ततः बैशाख १४ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मको थप हाइप सृजना गर्न कलाकारसहितको टोलीलाई ललितपुर र काठमाडौँको विभिन्न स्थानमा बग्गी चढाएर घुमाइएको छ ।
बग्गीमा प्रियंका र सञ्जय सवार थिए । अभिनेता दयाहाङ राई भने आफ्नो व्यस्त सेड्युलका कारण रथ यात्रामा शहर घुम्न सकेनन् । विहान १० बजे लगनखेलबाट सुरु भएको रथ यात्रा थापाथली, त्रिपुरेश्वर, दरबारमार्ग, पुतलीसडक हुँदै भृकुटीमण्डपमा पुगेर प्रेसमिटमा परिणत भएको थियो ।
पत्रकारसँग कुराकानीको क्रममा प्रियंकाले बग्गीमा यात्रा गर्दा खुसी महशुस गरेको बताइन् । उनले भनिन्, 'बाटोमा हामीलाई देखेर धेरै आश्चर्यमा पर्नुभएको थियो । थाहा नभएकाहरुलाई पनि फिल्म 'ह्याप्पी डेज' बैशाख १४ मा हलमा लाग्दै रहेछ भने जानकारी भयो । खुसी लाग्यो दर्शकसँग फेरि पनि प्रत्यक्ष साक्षात्कार गर्न पाएँ ।'
.jpg)
यसअघि आफ्नो जन्मदिनमा प्रेमी आयुष्मान देशराज जोशीले बग्गीमा राखेर उनलाई शहर घुमाएका थिए । दोस्रो पटक फिल्मका कलाकार सञ्जयसँग बग्गी चढेर शहर घुम्दा कस्तो अनुभव भयो ? पत्रकारको यस प्रश्नमा प्रियंकाले जवाफ दिन चाहिनन् । भनिन्, 'फिल्मकै विषयमा मात्र कुरा गरौंन हुन्न ?'
उता, सञ्जय भने प्रियंकासँग बग्गी चढेर शहर घुम्न पाउँदा दंग देखिन्थे । उनले भने, 'पहिलो पटक बग्गी चढेको हुँ । देशकै चर्चित नायिकासँग छेवैमा बसेर शहर घुम्दा कस्तो अनुभव भयो भन्ने कुरा शब्दमा बयान गर्न सक्दिनँ ।' प्रियंका र सञ्जय दुबै 'ह्याप्पी डेज' साधारण लभस्टोरीमा मसलेदार फिल्म बनेको बताउँछन् ।
.jpg)
निर्देशक मिलन चाम्सले फरक शैलीको प्रचारले दर्शकमा सकारात्मक सन्देश प्रवाह गर्न सफल भएकोमा खुसी व्यक्त गरे । फिल्मको प्रदर्शनका लागि लण्डनबाट नेपाल आएका निर्माता बिपी खनालले 'ह्याप्पी डेज' को सुन्दर प्रचार शैली झैँ फिल्म पनि लोभलाग्दो बनेको बताए ।
अब फिल्मको रथ यात्रा सिंहदरबार, माइतीघर, नयाँबानेश्वर, तिनकुने, कोटेश्वर हुँदै सातदोबाटोमा पुगेर टुंगिने छ ।
.jpg)
चाम्स इन्टरटेनमेन्ट र लन्डन सिने आईको व्यानरमा निर्मित ‘ह्याप्पी डेज’ मा दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता, दीया पुन, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स र जेन बकल अभिनय छ ।
साढे २ करोडको बजेटमा निर्माण भएको फिल्ममा बिपी खनाल, भवानी शर्मा, हिराल जोशी, मिलन चाम्स र डा. अशोक खनाल निर्माताका रुपमा रहेका छन् ।

