Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘माग्ने बुढा’ ले स्कुलै नगएका इन्ताजको पढाई खर्च बेहोर्ने

फिल्मीखबर, काठमाण्डौ, 2018/04/14
हास्यकलाकार केदार घिमिरे (माग्ने बुढा) ले आजसम्म स्कुल नै नगएका सर्लाहीका १३ वर्षिय इन्ताज मोहसिनको पढाई खर्च बेहोर्ने निर्णय गरेका छन् । फेसबुकमा फोटोसहित एक स्टाटस लेख्दै उनले यो कुराको जानकारी गराएका छन् । 
 
शिक्षा मन्त्री गिरीराजमणी पोखरेल तथा शिक्षा मन्त्रालय र नेपाल सरकारको अभियान ‘एक ब्यक्ति एक बिद्यार्थी’ अन्तर्गतको अभियानलाई सहयोग गर्दै घिमिरेले नेपाली अक्षर समेत नचिन्ने इन्ताजलाई पढाउने जिम्मेवारी उठाएका हुन् । 
 
 
मुस्लिम समुदायका उनी वर्षौदेखि वर्कशपमा हेल्परको रुपमा काम गर्दै आइरहेका थिए । इन्ताजको बुबाको निधन भइसकेको छ भने आमा इट्टा बोक्ने काम गर्दछिन् । ‘माग्ने बुढा’ फेसबुकमा लेख्छन्, ‘अरुको मुख ताकेर धेरै पुस्ता बिते, अब आफैं जागौं, समृद्धि हाम्रै पालामा सम्भब छ ।’ 
 
शुक्रबार विद्यालयको पहुँचबाट बाहिर रहेका बालबालिकालाई विद्यालयसम्म पुर्‍याउन हरेक नागरिकले अभिभावकत्व ग्रहण गर्न सरकारले गरेको आह्वान कार्यक्रममा उपस्थित केदारले शिक्षा सम्बन्धि सरकारी विज्ञापनमा निशुल्क अभिनय गर्ने वचन पनि दिएका छन् । 
 
कक्षा १ मा भर्ना गर्ने उमेर कटेका तर अहिलेसम्म पढ्न नपाएका विद्यार्थी लक्षित गरी विद्यालय खोल्न उनले सुझाव पनि दिए ।
 
 
‘मेरो घर नजिक एउटा ग्यारेजमा काम गर्ने १२–१३ बर्षको इन्ताज मोहसिन नाम गरेको बालक छ, उसले पढेको छैन, मैले पढाउने विचार त गरेँ तर उसको उमेरका साथी भाई कक्षा १ मा हुँदैनन् त्यसैले उसलाई पढ्न अप्ठ्यारो लाग्यो’ उनले भने, ‘त्यसैले यस्ता बालबालिकाका लागि छुट्टै विद्यालय खोल्न पर्ने देख्छु ।’
 
कार्यक्रममा अर्का कलाकार सिताराम कट्टेल (धुर्मुस) ले सरकारको अभियानमा प्रतिवद्धता जनाउँदै अभिभावक शिक्षामा केन्द्रित हुन शिक्षा मन्त्रालयलाई सुझाव दिए ।
 
यस्तै, अर्का कलाकार मनोज गजुरेलले भर्ना अभियान सफल बनाउन आफू प्रतिवद्ध रहेको बताउँदै सामाजिक सञ्जालमा भर्ना अभियानका बारेमा स्टाटस लेखेर ब्यापक बनाउन सहकर्मी कलाकारसँग आग्रह गरे ।
Most Visited News (monthly)