सलोन बस्नेत र ‘तरकारीवाली’ नामले प्रख्यात कुशुल श्रेष्ठको अभिनय रहेका कारण धेरैका लागि फिल्म ‘लम्फू’ को ट्रेलर प्रतिक्षामा थियो । अन्ततः बिहीवार ट्रेलर पनि सार्वजनिक भयो । इन्टरनेट रिलिज लगत्तै धेरैले ‘तरकारीवाली’ र सलोनको भूमिका हेर्न तर्फ लागे ।

तर, ट्रेलरमा नव-नायक कबिर खड्का र सलोन मात्र हाबी छन् । ‘तरकारीवाली’ लाई ठम्याउन नै मुश्किल पर्छ । उनलाई ट्रेलरमा खासै स्थान दिइएको छैन । निर्माण पक्ष उनको भूमिकालाई ट्रेलरमा ‘रिभिल’ गर्न नचाहेको देखिन्छ ।
युट्युब रिलिजको २४ घण्टा वित्दा १ लाखभन्दा बढी पटक हेरिसकिएको फिल्मको ट्रेलरमा २ सय बढी कमेन्ट प्राप्त छन् । कमेन्टमा अधिकांशले ‘तरकारीवाली’ को खोजी गरेका छन् । धेरैले उनलाई ट्रेलरमा प्राथमिकता नदिएको भन्दै गुनासोे पोखेका छन् ।
कमेन्टमा सरोज शाही लेख्छन्, ‘खोई त ‘तरकारीवाली’ ? पूरा ट्रेलरमा एक पटक पनि छैन त ? ‘तरकारीवाली’ लाई यूज मात्र गरेको आफ्नो फिल्मको प्रचार हुन्छ भनेर होइन त ?’
यस्तै, शक्ति लिम्बु लेख्छन्, ‘तरकारीवाली’ को नाम निशानै छैन त ?’ केहीले ‘तरकारीवाली’ को फिल्म भन्दै कमेन्ट पनि पोस्ट गरेका छन् । यसमा कुशुमको केमियो रोल रहेको बुझिएको छ ।
यस्तै, सलोनलाई ‘बेष्ट’, ‘गूड लक’, ‘दाम्मी’ जस्ता कमेन्ट प्राप्त छन् । कबिरका लागि पनि निकै राम्रा कमेन्ट लेखिएका छन् । कमेन्टमा अधिकांशले ट्रेलरको प्रशंसा गरेका छन् । रोदन, एक्सन, प्रेमलाई समेटिएको ट्रेलरले फिल्मप्रति दर्शकमा अझ उत्सुकता र कौतुहलता जगाउन थालेको छ ।
वर्ष २०७५ बैशाख २८ गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको ‘लम्फू’ लाई गोपालचन्द्र लामिछानेले निर्देशन गरेका हुन् भने शक्तिबल्दभ घोरासैनीले निर्माण गरेका हुन् ।
ट्रेलर हेर्नुस् :-
यसमा चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई (बालकलाकार), आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुङ, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको अभिनय रहेको छ ।

