गाउँले भूमिकामा सबैभन्दा बढी खोजिने अभिनेता हुन् दयाहाङ राई । निर्माता/निर्देशकलाई लाग्छ उनले गाउँले चरित्र जस्ताको तस्तै प्रस्तुत गर्न सक्छन् । त्यसैले त स्क्रिप्ट राईटर पनि गाउँले परिवेशमा रहेर स्टोरी लेख्दै गर्दा दयालाई दिमागमा राख्न विर्सदैनन् ।
हुनपनि उनी जुन फिल्ममा गाउँको सोझो पात्रको रुपमा देखिएका छन्, त्यसलाई दर्शकले औधी प्रेम गरेका छन् । दयाहाङले निर्वाहा गर्ने हरेक चरित्रभित्र दर्शकहरु आफ्नो कथा भेट्दछन् ।
‘मेरो एउटा साथी छ’ देखि सुरु भएको उनको गाउँले भूमिका निर्वाहा गर्ने यात्रा गएको महिना रिलिज भएको फिल्म ‘कान्छी’ सम्म आइपुग्दा त्यसले निरन्तरता पाएको छ ।
दयाहाङ यस वर्षका लागि अन्तिम फिल्म लिएर पुनः दर्शकमाझ आउँदैछन् । चैत ३० गते उनी अभिनीत फिल्म ‘नेप्टे’ देशैभर प्रदर्शनको तयारीमा छ ।
अन्य फिल्मभन्दा उनले यस फिल्ममा फरक भूमिका पाएका छन् । सम्भवतः दया पहिलो पटक भिलेन बनेका छन, जुन फिल्मको ट्रेलर हेर्दा पनि प्रष्ट हुन्छ ।
(1).jpg)
यस फिल्मको पब्लिसिटीमा खासै नदेखिएका दयाहाङका लागि ‘नेप्टे’ मा भिलेन बन्नु अवसर र चुनौती दुबै छन् । एकातिर हिरोको छवि मेटिने पो होकि भन्ने डर पनि उनमा छ ।
हुनत, जबसम्म फिल्ममा भिलेन बलियो हुँदैन तबसम्म न हिरो न त हिरोइन नै बलियो हुन्छ । यसकारण पनि हरेक फिल्ममा भिलेनको उपस्थिति उतिक्कै महत्वपूर्ण हुन्छ ।
एकैखाले भूमिकाबाट बाहिर आउन नसकेको आरोप खेप्दै गर्दा दयाहाङका लागि ‘नेप्टे’ को क्यारेक्टरले गतिलै जबाफ दिनसक्छ ।
प्रायः पर्दामा दयालु पात्र बनेर दर्शक रिझाएका उनले अब उनै दर्शकमा आफूप्रति क्रोध पैदा गर्न सके ‘नेप्टे’ मा भिलेन बन्नुको पनि उनलाई ठूलै उपलब्धि हुनसक्छ । यसकारण ‘नेप्टे’ ले उनका लागि अवसरका नयाँ बाटोहरु पनि साथमै लिएर आएका छन् ।
अर्कोतिर भिलेन बन्दै गर्दा हिरोवाला छबि गुम्दै पनि जानसक्छ । यो जोगाउनु उनका लागि चुनौतीको पहाड सामुन्ने उभिनु रहर हो । अझ, भिलेनमा पनि आफूलाई फिट राख्नु पर्ने उनमा थप चुनौती छ ।
हिरो बनेर वर्षौदेखि कमाएको ‘वाहवाही’ को कमेन्ट खलपात्रबाट जोगाउन नसके उनको करिअरको एउटा इट्टामा चोट पुग्न सक्छ । यसकारण दयाहाङका लागि ‘नेप्टे’ अवसर र चुनौती दुबै हो भन्नु गलत नहोला ।
देव कुमार श्रेष्ठ निर्देशित यस फिल्ममा रोहित रुम्बा, छुल्ठिम गुरुङ्ग, ए गुरुङ, वुद्दि तामाङ, पूर्णिमा लामा, अरुणा कार्की, प्रनिशा सिलवाललगायतका कलाकारहरुको लिड रोल छ ।
किरण माइकलको पटकथा एवं संवाद रहेको ‘नेप्टे’ मा रोहित आफैंले कथा लेखेका छन् । कलाकार रोहित रुम्बाद्वारा निर्मित ‘नेप्टे’ लाई हरी घले लामाले खिचेका हुन् ।
कविराज गहतराजको कोरियोग्राफी, तारा थापा 'किम्भे' को सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व रहेको फिल्ममा अभिनेता जय किशन बस्नेतलाई केमियो गर्दै गरेको देख्न सकिनेछ ।

