बैशाख २१ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘डमरुको डण्डीबियो’ मा पारिवारिक कथासँगै मायाप्रेम देखाइएको कलाकार तथा लेखक खगेन्द्र लामिछानेले बताएका छन् ।
फिल्मको मोफसल टुरमा निस्किएका उनले आफूले लेख्ने र खेल्ने फिल्म व्यबसायिकताका लागी मात्रै नहुने बताए ।
बुधवार चलचित्र पत्रकार संघ कास्कीले पोखरामा आयोजना गरेको एक कार्यक्रममा लामिछानले भने, “मैले लेख्ने र खेल्ने फिल्म व्यबसायिकताको लागी मात्रै हुँदैन । मलाई यो बिषय गहन हो भन्ने लाग्यो भने कथा लेख्छु । चल्ने नचल्ने फरक पाटो हो ।”
.jpg)
उनले गतबर्ष राष्ट्रिय खेलबाट हटाइएको डण्डीबियो खेललाई फिल्ममा देखाइएको जानकारी दिए । यस्तै, कलाकार बुद्धि तामाङ फिल्मले पछिल्लो समय युवा पुस्ताले बिर्सेको डण्डिबियो खेललाई स्मरण गराउनेसँगै खेलको महत्व झल्काउने बताउँछन् ।
पर्यटन व्यवसायी समेत रहेका निर्माता बिनोद गुरुङले बन्दै आएका अन्य नेपाली फिल्मभन्दा विल्कुलै फरक स्वादमा फिल्म बनेको बताए ।
फिल्ममा मेनुका प्रधान, अनुप बराल, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिश्री थापा, इंगिहोपू कोइंच सुनवार, नमिता घिसिङ लगायतको अभिनय रहेको छ ।
समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा नोर्वु छिरिङ घले र विनोद गुरुङको लगानी छ । छेतेन गुरुङले निर्देशन गरेका हुन् ।
पोखराबाट औपचारिक रुपमा सुरु भएको फिल्मको प्रचार अब बुटवल, नारायणघाट, हेटौंडा, दमक हुँदै बिर्तामोडसम्म हुनेछ ।

