म्यूजिक भिडियो हुँदै फिल्म निर्देशनमा होमिएका निर्देशक हुन् मिलन चाम्स । उनको पहिलो डेब्यु निर्देशित फिल्म हो ‘हँसिया’ । यसपछि उनले ‘वीर विक्रम’, ‘ब्लाइन्ड रक्स’ निर्देशन गरे र यी फिल्म प्रदर्शन समेत भइसकेका छन् ।
अब उनी निर्देशित नयाँ फिल्म ‘लिलिबिली’ चैत ३० गतेबाट प्रदर्शनमा आउँदैछ । यस्तै, उनले निर्देशन गरेका फिल्म ‘बोबी’ र ‘ह्याप्पी डेज’ प्रदर्शनको तयारीमा छन् भने ‘वीर विक्रम २’ चाँडै फ्लोरमा जाँदैछ । उनले ‘सोलिडोली’ टाइटल चलचित्र विकास बोर्डमा दर्ता समेत गरिसकेका छन् ।
छोटो समयमा धेरै फिल्म निर्देशन गर्ने निर्देशकको लिस्टमा मिलन पनि सामेल छन् । तर, उनले अबको ३ वर्षभित्रमा फिल्म निर्देशनबाट सन्यास लिने उद्घोष गरेका छन् । सोमवार पत्रकारसँगको संक्षिप्त कुराकानीको क्रममा उनले भने, ‘अबको २ वा ३ वर्षभित्रमा म फिल्म निर्देशनबाट हात झिक्नेछु ।’
.jpg)
कारण के होला ? फिल्मप्रति वितृष्णा जागेको हो ? पत्रकारको प्रश्नमा उनी भन्छन्, ‘वितृष्णा जागेको होइन । मैले फिल्मका लागि भनेर धेरै कुरा त्याग गरेको छु । दरबारमार्गमा चलिरहेको होटल छाडेँ । एक्सपोर्ट-इनपोर्टको विजनेश छाडेँ । फिल्मका लागि भनेर मैले धेरै त्याग गरेको छु । फिल्मको विषयमा कसैले नराम्रो बोल्यो भने मलाई रिस उठ्छ ।’
‘मैले सन्यास दिँदै गर्दा फिल्म निर्देशन छाड्नुको सबै कारण खुलाउनेछु ।’ उनी भन्छन्, ‘यहाँ मेकर्सले मेकर्सकै खुट्टा तान्ने प्रवृति छ । कलाकारले कलाकारकै नराम्रो भनिरहेका हुन्छन् । यो देख्दा मलाई साह्रै पीडा हुन्छ । मैले फिल्मबाट सन्यास लिनुको कारण यो पनि हुनसक्छ ।’
फिल्म निर्देशनबाट सन्यास लिएपछि उनी आफ्नो विजनेशलाई अगाडि बढाउने सोचमा छन् । ‘लिलिबिली’ कस्तो छ त ? पत्रकारको प्रश्नमा उनी जवाफ दिन्छन्, ‘कस्तो छ भन्ने कुरा दर्शकको प्रतिक्रिया सुनेपछि थाहा हुनेछ । हामीले राम्रो दिन कुनै कसर बाँकी राखेका छैनौं । मलाई लाग्छ नेपाली फिल्म इन्डष्ट्रीले गर्व गर्न लायकको फिल्म बनेको छ ।’

