अभिनेत्री वर्षा सिवाकोटीले शनिवार आफ्नो २४ औं जन्मदिन मनाएकी छिन् । जन्मदिनको अवसरमा उनले ‘धुर्मुस-सुन्तली’ फाउन्डेशनलाई ५१ हजार नगद हस्तान्तरण गरिन् ।
उनले आफ्ना पिताको सम्झनामा उक्त रकम हस्तान्तरण गरेकी हुन् । बुबा कृष्ण प्रसाद सिवाकोटीको नाममा रकम हस्तान्तरण गर्दै वर्षाले जन्मदिनमा एउटा पवित्र काममा सहभागी हुन पाउँदा खुशी लागेको सुनाइन् ।
‘धुर्मुस-सुन्तली फाउन्डेशन’ ले निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदानका लागि नायिका सिवाकोटीले सहयोग गरेकी हुन् ।

यस्तै, उनले हाल छायांकनरत फिल्म 'जय शम्भु' को सेटमै बर्थ डे केक काटिन् । शनिवार बिहानदेखि साँझसम्ममा उनले ५ वटा केक काटेकी थिइन् । उनले बर्थ विस गर्ने र मनाइदिने सबैलाई धन्यवाद दिएकी छिन् ।
चाँडै 'विर विक्रम २' को छायांकनमा व्यस्त हुने तयारीमा रहेकी वर्षाको 'भैरे' नामक फिल्म प्रदर्शन मिति कुरेर बसेको छ ।
वर्षा सिवाकोटीको डेब्यु फिल्म 'नाइँ नभन्नू ल २' हो । उनले 'कारखाना', 'सुब्बा साब', 'लप्पन छप्पन', 'गाँजाबाजा' लगायतका फिल्ममा काम गरिसकेकी छिन् ।

