शुक्रवाबाट देशभर प्रदर्शनमा आएको फिल्म ‘तिमीसँग’ ले क्रिटिक्स र दर्शकबाट ‘मिक्स रिभ्यू’ पाइरहेको छ । राम्रा र नराम्रा दुबै प्रकारका कमेन्ट फिल्मलाई प्राप्त छ ।
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता द्वय नाजिर हुसेन र आकाश श्रेष्ठको प्रमुख भूमिका रहेको फिल्मका निर्माता तथा निर्देशक शिशिर राणा हुन् ।
प्रदर्शनको पहिलो दिन सुखद ओपनिङ गरेको फिल्मको शनिवार बिहानैदेखि देशभरका हलमा दर्शकको चाप देखिएको छ । साम्राज्ञीको क्रेजका कारण हलमा दर्शकको संख्या बढेको छ ।
.jpg)
यस फिल्ममा साम्राज्ञी, नाजिर र आकाश मात्र छैनन् । नेपालका झण्डै आधा दर्जन नाम चलेका कलाकारको केमियो रोल समेत छ ।
को-को छन् त फिल्ममा ? वितरक तथा 'लुटेरा' निर्माता गोपाल कायस्थ काठमाडौंको एक होटलको म्यानेजरको भूमिकामा छन् ।
अभिनेता निखिल उप्रेती कलाकारकै भूमिकामा प्रस्तुत भएका छन् तर उनलाई कुनै संवाद दिइएको छैन । फिल्ममा निखिलको फ्यान बताउने नाजिरका लागि एक सिनमा उनलाई जोडिएको छ ।
अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला र हास्यकलाकार दीपकराज गिरीलाई फेवा तालमा डुंगा चलाउँदै प्रेम साटासाट गरिरहेको अवस्थामा भेट्न सकिन्छ ।
कलाकार सुनिल थापा (राते काइला) घान्द्रुकको एक होटलको मालिक बनेका छन् । हजुरबुबाको चिठी लिएर नाजिर उनलाई नै भेट्न घान्द्रुक पुगेका हुन्छन् ।

बनिश शाह अब फिल्म सम्पादक मात्र रहेनन् । उनी कलाकार भएका छन् । फिल्ममा उनको भूमिका वजनदार छ । साम्राज्ञीको पिताको भूमिकामा उनी प्रस्तुत छन् ।
अभिनेत्री करिश्मा मानन्धर फिल्मको एक गीतमा फिचरिङ छिन्, जुन गीत यसअघि नै युट्युबमा आइरहेको छ ।
फिल्मको क्लाइमेक्स सिनमा दर्शक 'सक्ड' हुन्छन् । किनभने, अभिनेत्री वर्षा राउतको पनि एक झलक हेर्न पाइन्छ । ‘तिमीसँग’ मा नाजिरसँग उनको लगनगाँठो कसिएको छ । उनलाई पनि कुनै संवाद दिइएको छैन ।

