बलिउडका 'दबंग ब्वाई' सलमान खान कालो हरिण शिकारको मुद्धामा दोषी ठहरिएका छन् । बिहीवार जोधपुरको अदालतले यस मुद्धामा फैसला सुनाएको छ ।

सलमानलाई अदालतले ५ वर्ष जेल र १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । सजाय सुनाए लगत्तै सलमानलाई प्रहरीले हिरासतमा लिएको छ । यो मुद्धा करीब २० वर्षदेखि चलिरहेको थियो ।
सलमान खान दोषी ठहरिए सँगै अडकल काट्न थालिएको छ कि अब उनको प्रोफेशनल प्रोजेक्ट रोकिन सक्छ । साथै, करोडौं रुपैयाँ फस्न सक्छ । तर, अझै बेलका लागि सलमानसँग माथिल्लो अदालत जाने विकल्प छ ।
सलमान अहिले धेरै प्रोजेक्टसँग जोडिएका छन् भने केहीमा जोडिने सम्भावना छ । अदालतको फैसलाले सलमानलाई व्यावसायिक नोक्सान हुने छैन तर उनको छबिमा भने धक्का पुग्नेछ ।
जान्नुहोस्, सलमानको सजायले कसरी बिजनेसमा असर गर्छ ?

'रेस ३'
सलमान खानले अहिले 'रेस ३' को छायांकन गरिरहेका थिए । रेमो डिसूजाको निर्देशनमा बनिरहेको यो फिल्म अझै सुटिङ सकिएको छैन । यो फिल्मको बजेट सय करोड रुपैयाँ हो । सलमान यसमा लिड रोलमा छन् ।

'भारत'
सलमान खान 'भारत' नामको एक फिल्ममा काम गर्दै थिए । यदी सलमानलाई लामो जेल सजाय भएको खण्डमा यो फिल्म त्यस्तै थन्किने छ ।
यो फिल्मलाई अली अब्बास जफरले निर्देशन गर्दैछन् । उनले यसअघि सलमानसँग 'सुल्तान' र 'टाइगर जिन्दा हे' मा काम गरिसकेका छन् । 'भारत' को सुटिङ जूनबाट सुरु हुने तयारी थियो ।

'दबंग ३'
सुपरहिट सिरिज 'दबंग ३' मा पनि सलमान हुने तय भइसकेको थियो । यो फिल्मको सुटिङ पनि यसै वर्षको अन्त्यबाट सुरु हुँदै थियो ।

'किक २'
सलमान खानको सुपरहिट फिल्म 'किक'को सिक्वेल पनि बन्ने तयारीमा थियो ।

'बिग बोस १२'
सलमान खानको नाम अहिलेसम्म 'बिग बोस' को नयाँ सिजनका लागि तय भइसकेको छ । अक्टोबरबाट सुरु हुन लागेको 'बिग बोस १२' का लागि अब सलमानको ठाउँमा नयाँ होस्ट खोज्नु पर्ने भएको छ । उनले यस शोका लागि ११ करोड पारिश्रमिक बुझ्दै आएका थिए ।

