१९ वर्ष पुरानो कांकणीको कालो हरिणको शिकारको मुद्दामा जोधपुरको सीजेएम कोर्टले बलिउड सुपरस्टार सलमान खानलाई दोषी ठहर गरेको छ ।
उनको अलावा मुद्दाका सह-आरोपी सैफ अली खान, तब्बू, नीलम, सोनाली बेन्द्रे र उनका ड्राइभरलाई अदालतले क्लिन चिट दिएको छ । कोर्टले सलमानलाई वन्य जीव संरक्षणको धारा ९/५१ का अनुसार दोषी ठहर गरेको हो ।

सीजेएम देव खत्रीले सलमानलाई दोषी ठहर गर्दै ५ वर्ष जेल सजाय र १० हजार रुपैयाँ जरिवाना पनि सुनाएका छन् । सलमानले आजको रात जेलमा विताउनु पर्ने छ ।
दोषी ठहर लगत्तै उनलाई हिरासतमा लिइएको छ । सलमान खानलाई अब जोधपुर सेन्ट्रल जेल लगिने छ । जोधपुर स्पेशल कोर्टको बाहिर सुरक्षा ब्यवस्था कडा बनाइएको छ ।
सलमानलाई तीन वर्षको सजाय सुनाइएको भए मुख्य न्यायिक दण्डाधिकारीको अदालतबाट जमानत मिल्न सक्थ्यो र दोषी सावित र सजाय सुनाए पनि उनी घर जान सक्थे ।
तर, सीजेएम देव कुमार खत्रीले सलमानलाई पाँच वर्षको जेल सजाय सुनाएका छन् । यसको अर्थ उनलाई अब सीजेएम कोर्टबाट जमानत मिल्ने छैन किनकी उनलाई मिलेको सजायको अवधि धेरै छ ।
सलमानलाई अब जमानतका लागि जिल्ला अदालतमा याचिका दायर गर्नु पर्नेछ । सलमानलाई २ बजे सजाय सुनाइएको हो ।
यो घटना फिल्म ‘हम साथ साथ हे’ को सुटिङको दौरानमा घटेको थियो । सन् १९९८ मा राजश्री फिल्मको ब्यानरमा बनेको यस फिल्मको सुटिङको समयमा सलमानमाथी कालो हरिण मारेको आरोप लागेको थियो ।
यी व्यक्तिले दर्ता गरेका थिए मुद्धा
वन अधिकारी ललित बोराले यस मुद्दामा जोधपुरको लूणी पुलिस थानामा १५ अक्टोबर, १९९८ मा सलमान खानको विरुद्धमा एफआईआर दर्ता गराएका थिए ।
एफआईआरका अनुसार, सलमान खानले १२ अक्टोबर, १९९८ मा दुई कालो हरिणको शिकार गरेका थिए ।

