गएको हप्ता इन्टरनेट रिलिज भएको फिल्म ‘कोहलपुर एक्सप्रेस’ को ट्रेलर यतिबेला खुब चर्चामा छ । कमेडी संवादले भरिएको ट्रेलरमा फिल्मका सबै पात्र अटेका छन् । यसमा पैसाका लागि पात्रबीचको तनाब र दौडधुप देखाइएको छ ।
अभिनेत्री केकी अधिकारीको होम प्रोडक्शन हाउस ‘जुनकिरी आर्टस्’ बाट निर्माण भएको यस फिल्ममा केकी, प्रियंका कार्की र ऋचा शर्मा लिड रोलमा छन् । सार्वजनिक ट्रेलरमा यी तीनमध्ये कसको अभिनयलाई दर्शकले औधी रुचाएका छन् त ?
.jpg)
बैशाख १४ गतेबाट प्रदर्शनमा आउन लागेको ‘कोहलपुर एक्सप्रेस’ को ट्रेलरमा अभिनेत्री ऋचा शर्माको नाममा धेरै कमेन्ट लेखिएका छन् । उनका लागि ‘सुपर’, ‘दाम्मी’, ‘बेष्ट नेपाली एक्ट्रेस’ जस्ता कमेन्ट प्राप्त छन् ।
उनले फिल्ममा मोडल तिर्सना बुढाथोकीको हाउभाउ, बोलीचाली र हिँडाइ दुरुस्तै नक्कल गर्न खोजेकी छिन् । उनको उक्त प्रयासलाई धेरैले ‘गुड’ भनेका छन् । झरना मैनाली लेख्छिन्, ‘ऋचाको एक्टिङले दिल गार्डेन भो ।’ उनको कमेन्टमा चार जनाले लाइक्स दिएका छन् ।
८ हजार ७ सय बढी लाइक्स प्राप्त ट्रेलरलाई अहिलेसम्म साढे ४ लाखभन्दा बढी पटक हेरिसकिएको छ । ट्रेलरमा साढे ९ सय बढी कमेन्ट प्राप्त छ । अधिकांशले ट्रेलर राम्रो रहेको लेखेका छन् । केकी र प्रियंकाका लागि पनि उस्तै राम्रा कमेन्ट कोरिएका छन् ।
यस फिल्मका निर्देशक विशाल भण्डारी हुन् । यसअघि उनले दर्जनौं म्यूजिक भिडियो निर्देशन गरेता पनि फिल्म निर्देशन उनको यो पहिलो हो ।
विनोद न्यौपाने, बुद्दी तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराईलगायतका कलाकारहरुको पनि अभिनय रहेको फिल्मको कथा निर्देशक भण्डारी आफैंले लेखेका हुन् ।
अर्जुन तिवारीको छायांकन रहेको फिल्ममा भद्र बहादुर शाही, देवी लाल न्यौपाने पण्डित र शिव प्रसाद चौलागाई ‘कोहलपुर एक्सप्रेस’ को निर्माताका रुपमा रहेका छन् ।
फिल्मका गीतमा राजनराज सिवाकोटी, अर्जुन पोखरेल र कालीप्रससाद बाँस्कोटाको संगीत सुन्न सकिन्छ । ‘अब मनसँग मन’ र ‘सि-ओे-डब्लु काउ’ गीतका कारण पनि यो फिल्म यतिबेला राम्रै चर्चामा छ ।
ट्रेलर हेर्नुस् :-

