यही शुक्रवारबाट देशैभर प्रदर्शनमा आउन लागेको फिल्म ‘तिमीसँग’ को बुधवार साँझ राजधानीको कुमार हलमा प्रिमियर शो राखिएको छ । दिउँसैदेखि परिरहेको पानीका कारण प्रिमियर शो मा रौनकता नदेखिए पनि चलचित्रकर्मी र पत्रकारको उपस्थिति भने बाक्लो थियो ।
 (2).jpg)
कुमारीका दुई हल बुक गरिएको थियो । अभिनेता आकाश श्रेष्ठ आफू अभिनीत फिल्म ‘रामकहानी’ को छायांकनका लागि राजधानी बाहिर भएका कारण ‘तिमीसँग’ को प्रिमियरमा उपस्थित हुन सकेनन् ।
प्रिमियरमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता नाजिर हुसेनको जोडी तर्फ सबैका आँखा अडिएका थिए । झमझम परिरहेको पानीमा पनि साम्राज्ञीको हट पहिरनले प्रिमियर माहोल तताएको थियो ।
फिल्म हेरिसके पश्चात् अधिकांश चलचित्रकर्मीले अभिनेता नाजिरको अभिनयको तारिफ गरे । यस्तै, आकाश र साम्राज्ञीको जोडी सुहाएको कमेन्ट बर्षियो । अभिनेत्री करिश्मा मानन्धरले ‘पैसा असुल फिल्म’ भन्दै ‘तिमीसँग’ को तारिफ गरिन् ।
 (1).jpg)
छायांकन पक्ष कमजोर भएपनि लोकेशनले फिल्म हेरिरहँदा आनन्द प्रदान गर्छ । २ घण्टा १७ मिनेट अवधिको फिल्मले तीन पात्रको जर्नीको कथा बोल्छ ।
यूकेबाट घुम्न आएकी साम्राज्ञीका गाइड हुन्छन् आकाश । नाजिर भने हजुरबुबाको एउटा चिठी पुर्याउन हिँडेका हुन्छन् । यीनै तीन पात्रको वरिपरि फिल्म रुमलिएको छ ।
चलचित्रकर्मीको प्रतिक्रिया सुनेपछि साम्राज्ञी र नाजिर निकै उत्साहित देखिए । साम्राज्ञी भन्छिन्, ‘यत्रो महिना गरेको मिहिनेत र दुःख आजको प्रतिक्रिया सुनेपछि सबै भुलेँ । आकाशलाई आज धेरै मिस गरिरहेकी छु ।’
यस्तै, नाजिर पनि ‘तिमीसँग’ ले प्रिमियरमा उपस्थित सबैको मन जितेकोमा खुसी देखिए ।
 (3).jpg)
निर्देशक शिशिर राणा निर्देशित तथा निर्मित यस फिल्ममा रोशन भट्टराईको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी र सुशिल क्षेत्रीको छायांकन छ । शिशिर राणा, साकार ओझा, समुन्द्र उप्रेती र सुशिल क्षेत्रीको पटकथा फिल्ममा छ ।

