सदाबहार अभिनेत्री करिश्मा मानन्धरको सधै सौन्दर्यको चर्चा हुन्छ । अभिनयको त उनलाई खानी नै भनिन्छ । उमेरले ४० वर्ष नाघिसकेपनि उनले आफूलाई राम्रै मेन्टेन गरिरहेकी छिन् । लाग्दैन, अहिले पनि उनी नेपालका कुनै नायिकाभन्दा कम छिन् ।
.jpg)
पछिल्लो समय राजनीतिमा पनि सक्रिय करिश्मा लामै समय भयो पर्दामा देखिएकी छैनन् । उनले पछिल्लो पटक फिल्म 'फागु' निर्माण गरेकी थिइन्, जुन बक्सअफिसमा नराम्रोसँग लड्यो । अब उनी आफ्नै छोरीलाई हिरोइन बनाउने भन्दै हिँडिरहेकी छिन् ।
अब पर्दामा फेरि हिरोइन बनेरै हिरोको वरिपरि रुमलिँनु पाच्य नहुने देखेर पनि हुनसक्छ उनी केही वर्षदेखि पर्दाबाट टाढै देखिएकी छिन् । खबरअनुसार, वर्षौदेखि उनलाई फिल्ममा आमाको रोलका लागि थुप्रै अफरहरु आइरहेका छन् । तर, सबै अस्वीकार गरिरहेकी छिन् ।
आइतवार चैत २३ गतेबाट प्रदर्शनमा आउन लागेको आफू अभिनीत फिल्म 'हिरोज' को विषयमा जानकारी दिने क्रममा उनलाई पत्रकारको यही प्रश्न तेर्सियो । करिश्माले सहजै उत्तर दिइन्, ‘झन्डै ८-९ वर्ष अगाडि देखि नै मलाई आमाको रोलका लागि फिल्मका अफरहरु आइरहेका छन् । तर, म आमाको भूमिका पनि लिड भए मात्र गर्छु । जस्तोसुकै गर्दिनँ ।’
उनी थप्छिन्, ‘जति पनि फिल्म अफर आए त्यसमा मैले आमाको भूमिका राम्रो पाइनँ । यसकारण अस्वीकार गरेकी हुँ । म आमाको भूमिका मात्र होइन आफूभन्दा बढी उमेरको महिलाको भूमिका पनि निर्वाहा गर्न 'रेडी' छु । मात्र भूमिका बलियो हुनु पर्यो ।’
उनी आगामी दिनमा आफू केन्द्रित फिल्ममा मात्रै अभिनय गर्ने आशय व्यक्त गर्छिन् । करिश्माले यस्तो धारणा दिएपनि ‘किन किन’ लगायत केही फिल्ममा आमाको भूमिका निभार्इ सकेकी छिन् ।
.jpg)
फिल्म 'हिरोज' मा उनको जोडी अभिनेता मुकेश ढकालसँग बाँधिएको छ । करिश्माले यस फिल्ममा आफ्नो भूमिका फरक रहेको बताउँछिन् । फिल्मलाई एनबि महर्जनले निर्देशन गरेका हुन् ।
अभिनेत्री पूर्णिमा लामाले निर्माण गरेको फिल्ममा जयकिसन बस्नेत, पूर्णिमा लामा, संजोग राणा, दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापति, दिनेश डिसीलगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

