पछिल्लो पुस्तामा सर्वाधिक रुचाइएका अभिनेता हुन् प्रदीप खड्का र पल शाह । ‘प्रेमगीत’ बाट स्टार अभिनेताको ट्याग पाएका प्रदीप र ‘नाई नभन्नू ल ४’ बाट स्टार अभिनेताको पंक्तिमा उभिएका पलबीच राम्रो सम्बन्ध नभएको गाइँगुइँ चर्चा छ ।
हुनत, यी दुईले आजसम्म कुनै पनि प्रोजेक्टमा सँगै काम गरेका छैनन् । सँगै एकसाथ नदेखिनुले चाहीँ दुबै एकअर्कासँग रुष्ट रहेको चर्चा छ । तर, शुक्रवार राजधानीमा आयोजित दोस्रो 'फान अवार्ड' मा पल र प्रदीपको चाहँदा-नचाहँदै भेट भयो ।
.jpg)
प्रदीपले पललाई अंकमाल गर्दै ‘शत्रु गते’ को सक्सेसको बधाई दिए । यस्तै पलले पनि प्रदीपलाई चैत ३० गतेबाट प्रदर्शनमा आउन लागेको ‘लिलिबिली’ का लागि शुभकामना दिए । दुबैले मिडियाको अगाडि मित्रता देखाए । यी दुई यसरी पहिलो पटक मिडियाको सामुन्ने भेटिएका हुन् ।
एक मिडियासँगको कुराकानीको क्रममा यी दुईले कुनै नयाँ प्रोजेक्टमा टिमअप हुने सम्भावना रहेको इशारा गरे । पल भन्छन्, ‘हामीबीच कहिल्यै झगडा परेको थिएन । हामी मिल्ने साथी हौं । कहिले काही फोनमा कुरा पनि हुन्छ । राम्रो स्क्रिप्ट भेटे प्रदीपसँग काम गर्न म इच्छुक छु ।’
उता प्रदीपले पनि पलसँग काम गर्ने सम्भावनाको ढोका खुल्ला गरेको बताए । उनी भन्छन्, ‘म पलको फ्यान हुँ । फिल्ममा आउनु अगाडिदेखि नै म उसको भिडियोहरु खुब हेर्ने गर्थे । उसैको कारण मलाई भिडियो खेल्ने शौख पलाएको थियो । केही भिडियो पनि गरे तर चलेनन् । अनि विस्तारै फिल्मतिर छिरेँ ।’
पल नेपालमा प्रदीप, अनमोल केसी, सलिनमान बनियाँ जस्ता १०-१५ जना ‘स्टार’ अभिनेता नेपाली फिल्मका लागि आवश्यक रहेको बताउँछन् । प्रदीप पनि यसमा होमा हो मिलाउँछन् ।
.jpg)
प्रदीप बलिउडको उदाहरण दिँदै भन्छन्, ‘बलिउडमा शाहरुख खान, सलमान खान र आमिर खानको मित्रता हेर्नुस् त कति राम्रो छ । उनीहरु एकअर्काको फिल्म रिलिज हुँदा होस् वा गाह्रो-साह्रो पर्दा मित्रता निभाउन कहिल्यै पछाडि पर्दैनन् । हामीले पनि त्यो परम्परा बसाउन आवश्यक छ ।’
पलले सुनाएको एउटा आइडियामा प्रदीपले काम गर्ने इच्छा रहेको पनि सुनाए । के हो त्यो आइडिया ? पल भन्छन्, ‘जसरी हास्यकलाकारहरुलाई लिएर दीपकराज गिरी दाईले ‘छक्का पञ्जा’ जस्तो सुपरहिट फिल्म बनाउनुभयो । त्यसरी नै म वा प्रदीप, प्रदीप वा अनमोल, म वा अनमोल, सलिन वा प्रदीपले मिलेर काम गर्यौं भने नेपाली फिल्मलाई धेरै राम्रो हुन्छ ।’
उनी अगाडि थप्दै भन्छन्, ‘अहिले कलाकारको कारण तीन दिनसम्म फिल्मको इनिसियल व्यापार राम्रो हुन्छ । यदी यसो भयो भने एक हप्ता नै इनिसियल व्यापार हुन्छ कि ? हामीलाई भन्दा पनि नेपाली फिल्म क्षेत्रलाई यसले ठूलो फाइदा पुग्छ । यही विषयमा मैले प्रदीपसँग हामी-हामी मिलेर काम गर्दा के हुन्छ भने आइडिया शेयर गरेको थिएँ ।’
प्रदीप, पलको यो कुरामा सकारात्मक देखिन्छिन् । उनी भन्छन्, ‘नेपालमा हरेक महिना एउटा सुपरडुपर हिट फिल्मको खाँचो छ । साउथतिर यो प्याटन देखिन्छ । रजनीकान्तको फिल्म आउँदा त्योमाथी अरु फिल्म नै छैन जस्तो हुन्छ । महेश बाबु, अल्लु अर्जुनको फिल्म आउँदा पनि त्यस्तै हुन्छ । त्यहाँ सबैबाट सपोर्ट मिल्छ । हामीमा चाहीँ त्यो संस्कार बस्न सकेको छैन । पलले भनेको जस्तो कुरा अब हामी आफैंबाट सुरु गर्नुपर्छ ।
.jpg)
यी दुई युवा ‘स्टार’ हरेक कलाकारको फिल्म रिलिज हुँदा अर्को कलाकारले साथ र सहयोग गर्नुपर्ने विचार राख्छन् । पल र प्रदीप एउटै आवाजमा भन्छन्, ‘हामी आफू भन्दा पनि अहिले नेपाली फिल्मलाई माथी उठाउन आवश्यक छ । दर्शकलाई नेपाली फिल्म हेर्ने बानी बसाल्न सिकाउनु पर्छ । त्यो हामीले नै गर्न सक्छौं ।’
तश्बिर सौजन्य : सिनेपाटी टिभीबाट

