डेब्यू फिल्म ‘ड्रिम्स’ ले चुलाएको अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको चर्चा दोस्रो फिल्म ‘ए मेरो हजुर २’ ले थप फराकिलो बनायो । अहिले उनकै कारण फिल्म हिट हुने अनुमान लगाइन्छ ।
उनलाई फिल्ममा अभिनय गराउन निर्माता-निर्देशकको ताँती लामै छ । लाखौं पारिश्रमिक एक फिल्मबाट बुझ्ने गरेकी छिन् उनले । यी सबै साम्राज्ञीले मात्र दुई फिल्मबाट कमाएको सम्पत्ति हो ।
.jpg)
साम्राज्ञी अहिले तेस्रो फिल्म ‘तिमीसँग’ को रिलिज कुरेर बसेकी छिन्, जुन चैत २३ गतेबाट अल नेपाल प्रदर्शन हुँदैछ ।
उनी स्क्रिप्ट सुन्दा नै यस फिल्मप्रति आकर्षित भएकी थिइन् । फिल्मको कथा नै उनकै वरिपरि घुमेका कारण पब्लिसिटीमा आँखा झिम्काउन समेत यतिबेला उनलाई फुर्सद छैन ।
बिहीवार करीब २० मिनेट फिल्मीखबरका पत्रकार मनिष अन्जानसँग गफिएकी साम्राज्ञीले विभिन्न विषयमा आफ्नो विचार राखिन् ।
‘तिमीसँग’ हेर्नुपर्ने तीन कारण खुलाइन् भने युवा स्टार प्रदीप खड्काले अभिनय गर्न लागेको फिल्म ‘भैरवी’ छाड्नुको विषयमा पनि उनले खुलेरै बोलिन् ।
‘एकदमै राम्रो फिल्म बनेको छ’, ‘तीन जना पात्रको जीवनमा घट्ने कुरा हरेक मानिसको जीवनमा घटेको छ’ र ‘फिल्मले मनोरञ्जन मात्र दिँदैन पाठ पनि सिकाउँछ’ उनी आफ्नो विचारमा ‘तिमीसँग’ हेर्नुपर्ने तीन कारण यीनै बताउँछिन् ।
कुराकानीको क्रममा उनलाई प्रदीप खड्काको ‘भैरवी’ साइन गरेको हो ? भन्ने प्रश्न तेर्सियो । उनले यस विषयमा सहजै उत्तर दिइन् ।

साम्राज्ञी भन्छिन्, ‘हो, मलाई फिल्मको अफर आएको थियो । स्क्रिप्ट पनि खुब मन परेको थियो । तर गर्न सकिनँ । मैले त्यसबेला ‘कायरा’ साइन गरिसकेकी थिएँ । यसकारण ‘भैरवी’ नगर्ने निर्णय गरेँ ।’
उनले प्रदीपसँग काम गर्ने धोको रहेको भने बताइन् । ‘मलाई प्रदीपको अभिनय मनपर्छ । सँगै काम गर्ने इच्छा छ ।’ उनले ओठमा मन्द मुस्कान बोक्दै भनिन् ।
‘भैरवी’ दिनेश राउतको निर्देशन र सुवास गिरीको प्रोडक्शन हाउसबाट निर्माण हुँदैछ । निर्माण टिम र साम्राज्ञीबीच मौखिक कुराकानी मात्र भएको थियो । उनले यो प्रोजेक्ट नगर्ने कन्फर्म भएपछि यतिबेला निर्माण टिम नयाँ नायिका भित्राउने तयारीमा जुटेको छ ।

