थोरै फिल्म खेलेर सफलता पाइरहेका अभिनेता अनमोल केसीको आज जन्मदिन हो । शुक्रवार जीवनको २३ औं बसन्त पार गरेका अनमोलको जन्मदिन विशेष पारेर आयोजित खासै कुनै पनि कार्यक्रमको अपडेट छैन । त्यसो त उनि आफैंमा भीडभाडबाट टाढा रहने अभिनेता पर्छन् ।
सन् १९९४ साल मार्च ३० गते बिहान ११:३० बजे ओम नर्सिङ्गमा सुष्मिता केसी र अभिनेता भुवन केसीका सुपुत्रको रुपमा जन्मेका अनमोल २०१३ मा पहिलो पटक लिड अभिनेताको रुपमा हेमराज बिसी निर्देशित फिल्म 'होस्टेल' बाट उदाए ।
(1).jpg)
अनमोलले पहिलो फिल्म नै हिट दिन सफल रहे । त्यसयता उनले 'जेरी', 'ड्रिम्स', 'गाजलु' र 'कृ' खेले । यी सबै फिल्म नेपाली बक्सअफिसमा हिट छन् । अनमोल पछिल्लो पुस्ताका सर्वाधिक रुचाईएका अभिनेता हुन् । भनिन्छ, नेपाली बक्सअफिसमा अहिले कसैको नामको स्टारडम बिक्छ भने त्यो नाम अनमोल केसी नै हो ।
युवा पुस्ताका ढुकढुकी अनमोलले अहिलेसम्म पाँच फिल्म गर्दा तीन निर्देशकसँग मात्र काम गरेका छन् । 'होस्टेल', 'जेरी' र 'गाजलु' तीनवटै फिल्ममा हेमराजसँग काम गरेका अनमोललाई अनमोल बनाउने श्रेय हेमराजलाई जाने चर्चा समेत फिल्म उद्योगमा चल्छ भने 'ड्रिम्स' मा आफ्नै पिता भुवनको एक्सन कटमा अनमोलले काम गरेका थिए । यस्तै, 'कृ' का निर्देशक सुरेन्द्र पौडेल थिए ।
उता अनमोलले हरेक पटक नयाँ अभिनेत्रीसँग मात्र स्कृन सेयर गरेका छन् । उनले काम गरेका पाँचवटै फिल्मबाट फिल्म उद्योगले संभावनावान पाँच अभिनेत्री पाएको छ । पहिलो फिल्ममा प्रकृती श्रेष्ठ, 'जेरी' बाट आना शर्मा, 'गाजलु' बाट श्रृष्टि श्रेष्ठ, 'ड्रिम्स' बाट साम्राज्ञीराज्य लक्ष्मी शाह र 'कृ' बाट अनमोलको अपोजिटमा आएकी अदिती बुढाथोकी पछिल्लो पुस्तामा संभावना बोकेका अभिनेत्रीमा पर्छिन् ।
यस्तै, पछिल्लो पटक निर्माणको क्रममा रहेको फिल्म 'क्याप्टेन' मा पनि अनमोलले नयाँ अनुहार उपासना सिंह ठकुरीसँग स्कृन सेयर गर्दैछन् । कथा, पटकथा तथा संवादको सबै काम सकिएको भनिएको यो फिल्म बैशाख पहिलो साताबाट फ्लोरमा जाने तयारी भइरहेको छ ।
अर्को रोचक तथ्य भनेको अनमोलले 'कृ' फिल्मको लागि २० लाख पारिश्रमिक बुझेका थिए । यसअघि यो पारिश्रमिक नेपालका अन्य अभिनेताले हात पारेका थिएनन् । हुनत, उनलाई अचेल ५० लाख पारिश्रमिकसहित फिल्मका अफरहरु दैनिकजसो नै पुगिरहेका हुन्छन् ।
त्यसो त अनमोल हरेक पटक जस्तो आफूले अभिनय गर्ने फिल्ममा एक संगीतकारको गीत छुटाउँदैनन् । उनि हुन् हर्कुलस बस्नेत । हर्कुलस र अनमोलको आफ्नै सम्बन्ध छ, हरेक पटक यी दुई सँगसँगै हुन्छन् ।
(1)(1).jpg)
बाहिर भीडभाडमा हिँड्न रुची नराख्ने अनमोल प्रायः घरमै बस्छन्, फिल्म हेर्छन्, गीतसंगीत सुन्छन्, फिटनेसमा लाग्छन् । लगातार हिट फिल्म दिँदा पनि अभिनयमा निखारता नआएको भन्दै उनले आलोचना पनि खेप्दै आएका छन् ।
उनलाई लुक्सले मात्र चलेको भन्ने आरोप लाग्छ । तर, अनमोलले पटक-पटक आफ्नो अभिनयलाई निखारता दिन लागेको भन्दै हरेक फिल्ममा सुधार्दै अघि बढेको बोल्दै आएका छन् । आकर्षक लुक्स र शरिरका धनि अनमोलका पुरुष भन्दा बढि महिला फ्यान छन् ।
नेपाली बक्सअफिसका 'स्टार' अनमोललाई भोलीको 'सुपरस्टार' को दर्जा दर्शक, फिल्म शुभचिन्तक तथा फिल्मकर्मीले दिईसकेका छन् । उनको स्टारडम यसरी नै जिवित रहोस्, अभिनय कलामा निखारता थपिँदै जाओस्, फिल्मीखबर परिवार उनको जन्मदिनमा शुभकामना व्यक्त गर्दछ ।

