
तेलुगु फिल्मका सुपरस्टार तथा दिवंगत मुख्यमन्त्री एन.टी. रामारावको जीवनीमा फिल्म निर्माण हुने भएको छ । यसको नाम ‘एनटीआर’ हुनेछ । फिल्मको सुटिङ बिहीवारबाट सुरु भएको छ ।
फिल्मको मुहुर्त सटको क्रममा उप-राष्ट्रपति वेन्कय्या नायडू पनि सहभागी थिए । फिल्म ‘एनटीआर’ को सुटिङ रामकृष्णा हर्टीकल्चरल सिनी स्टेडियोबाट सुरु भएको हो ।
अभिनेता तथा एनटीआरका छोरा बालकृष्णाले यस फिल्ममा एनटीआरको भूमिका निर्वाहा गर्नेछन् । मुहूर्त सटको कार्यक्रममा निर्देशक राघवेन्द्र राव, बोयपाटि श्रीनु, वीवी विनायक, पूरी जगन्नाथलगायत सयौं फिल्मीकर्मीको उपस्थिति थियो ।
उपराष्ट्रपति वेन्कय्या नायुडूले फिल्मको आरम्भ क्लाप ठोकेर गरे । बिहान ९:४२ मा फिल्मको पहिलो सिन फिल्मांकन गरियो । मुहूर्त सट एनटीआरको चर्चित फिल्म ‘दान वीर शूर कर्ण’ को एक संवादबाट गरिएको थियो ।

बालकृष्ण स्वयं यस फिल्मलाई ‘एनबीके फिल्म ब्यानर’ मा निर्माण गर्दैछन् । यसका अलावा साई कोर्रकोटि र विष्णु वर्धन इन्दूरी पनि उक्त फिल्मको निर्मातामा छन् ।
संगीत निर्देशक कीरवाणीले दिँदैछन् । गायक सन्तोष तुन्डियल सिनेमाटोग्राफर हुन् । वर्ष २०१८ भित्रै यो फिल्म प्रदर्शनमा ल्याइने तयारी छ ।

