Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘शत्रु गते’ को ६ दिने कलेक्सन साढे ५ करोड ग्रस

फिल्मीखबर, काठमाण्डौ, 2018/03/29
भोली शुक्रवारबाट दोस्रो हप्तामा प्रदर्शन आरम्भ गर्न लागेको महजोडीको कमब्याक फिल्म ‘शत्रु गते’ को ६ दिने कलेक्सन रिपोर्ट सार्वजनिक भएको छ ।
 
बिहीवार राजधानीमा वितरक कम्पनी बिके फिल्मस् र एफडी कम्पनीले कलाकार, निर्माता र निर्देशकको उपस्थितिमा फिल्मको विजनेश रिपोर्ट सार्वजनिक गर्दै सक्सेस केक काट्यो । 
 
 
काठमाडौं भ्यालीका वितरक गोपाल कायस्थले ‘शत्रु गते’ ले ६ दिनमा राजधानी भित्रबाट ३ करोड २५ लाख कलेक्सन गरेको जानकारी दिए ।
 
फिल्मीखबरसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, ‘पहिलो दिनदेखि फिल्म हेर्ने दर्शकको चाप हलहरुमा उस्तै छ । वर्ड अफ माउथ बलियो भएका कारण पनि फिल्मको कलेक्सन आक्रामक छ ।’ उनका अनुसार, दोस्रो सातामा पनि यस फिल्मले देशभर १ सय ३१ वटा हल पाएको छ । 
 
यस्तै, राजधानी बाहिरबाट फिल्मले २ करोड ३७ लाख कलेक्सन गरेको छ । राजधानी भित्र र बाहिरको कलेक्सन 'प्लस' गर्ने हो भने फिल्मले ६ दिनमा घरेलू बजारबाट कूल ५ करोड ६२ लाख कमाउन सफल भएको छ । 
 
फिल्मका प्रस्तुतकर्ता किरण केसीले दर्शकबाट पाएको उत्साहजनक साथबाट सन्तुष्ट रहेको बताए । निर्माता तथा कलाकार हरिवंश आचार्यले दर्शकको मायाले ‘शत्रु गते’ सफल भएकोमा खुसी व्यक्त गरे । 
 
यस्तै, फिल्मका क्याप्टेन प्रदीप भट्टराईले राम्रो फिल्म बनाए चल्छ भन्ने उदारहण ‘शत्रु गते’ ले दिएको बताए । उनी भन्छन्, ‘दर्शकबाट पाएको प्रतिक्रियाबाट मलाई थप जिम्मेवारी बोध भएको छ । भोलीका दिनमा झन् उत्कृष्ट फिल्म बनाउने वचन दिन चाहन्छु ।’ कार्यक्रममा अभिनेत्री आँचल शर्मा पनि उपस्थित थिइन् । 
 
दोस्रो सातामा नाम सुनिएका ठूला फिल्म रिलिज नहुने भएका कारण 'शत्रु गते' को विजनेशमा थप वृद्धि हुने निर्माण पक्षको आँकलन छ । बलिउड स्टार टाइगर श्राफ अभिनीत फिल्म ‘बागी २’ शुक्रवारबाट रिलिज हुने भएका कारण राजधानीका मल्टिप्लेक्समा भने यस फिल्मको केही शो घटेको छ । 
 
 
‘शत्रु गते’ हेरेपछि दर्शकले यसको संगीत, कलाकारको अभिनय, पटकथा, संवाद र कमेडी पाटोलाई मन पराएका छन् । 
 
‘शत्रु गते’ मा पल शाह, आँचल शर्मा, दीपकराज गिरी, दीपाश्री निरौला, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, प्रियंका कार्की, राजाराम पौडेल, मदनकृष्ण श्रेष्ठ, बसुन्धरा भुषाल, रमेश रञ्जन, शिवहरी पौडेललगायतका कलाकारको अभिनय छ । 
Most Visited News (monthly)