Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

सुवास भन्छन्, ‘ममाथि अन्याय भयो’ | ‘शम्भु प्रधान ११ लाखमा बिके’ : भुवन केसी

फिल्मीखबर, काठमाण्डौ, 2018/03/29
शम्भु प्रधान निर्देशित फिल्म ‘सम्झना’ (२०४०) मा समावेश ‘उकालीमा अघिअघि’ गीतको ३० सेकेण्डको टुक्रा विना अनुमती अनमोल केसी अभिनीत फिल्म ‘कृ’ मा राखिएको आरोपमा १७ घण्टे अनुसन्धान पश्चात बुधवार दिउँसो प्रहरीको हिरासतबाट मुक्त भएका निर्माता सुवास गिरीले आफूमाथी अन्याय भएको बताएका छन् । 
 
 
बिहीवार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले आफूलाई निर्देशक प्रधानले नियतिबस फसाएको दाबी गरे । उनले भने, ‘मैले के जघन्ने अपराध गरेको थिएँ र थुनामा राखियो ? अनि अरु अपराधी जस्तै मेरो हातमा हतकडी लगाइयो ? म त छलफलका लागि भनेर गएको थिएँ तर मलाई ठाडो आदेश भन्दै अपहरण शैलीमा थुनामा राखियो । म अत्यन्त दुखी छु ।’ 
 
‘संगीतकार अल्मोडा राना उप्रेतीलाई ५ लाख तिरेर मैले उक्त गीत फिल्ममा राखेको थिएँ । हो, फिल्मको निर्माता म हुँ । म दोषी छैन भनेर उम्कन खोजेको होइन । तर दोषी म मात्र पनि त होइन ? संगीतकार पनि त हो । तर मलाई मात्र किन फसाइयो ? शम्भु प्रधान जस्तो बरिष्ठ व्यक्तिले प्रहरी प्रशासनमा केही व्यक्ति राम्रो चिनेको भन्दैमा ममाथि गलत ब्यवहार गर्नुभयो ।’ उनले भने । 
 
गिरीले अब आफू प्रहरी प्रशासन र निर्देशक प्रधानविरुद्ध कानुनी रुपमा मुद्धा लड्ने बताए । उनी भन्छन्, ‘अहिले म अधिवक्ताहरुसँग छलफल गरिरहेको छु । यदी मिल्ने रहेछ भने म कानुनी रुपमा अगाडि बढ्छु । जीवनमा पहिलो पटक मलाई थुना र हातमा हतकडी लगाइयो । मलाई त्यसबेला सबैभन्दा धेरै पीडा भएको थियो ।’
 
निर्माता गिरीले प्रहरी र निर्देशक प्रधानको जर्बजस्ती पश्चात आफूले ११ लाख दिन बाध्य भएको खुलाए । उनले पटक-पटक आफूले संगीतकार अल्मोडालाई फोन गर्दा सम्पर्क हुन नसकेको पनि बताए ।
 
 
निर्माता गिरी अगाडि भन्छन्, ‘उहाँले ११ लाख रुपैयाँ माग्नु भएकोे हुन्थ्यो भने म एक शब्द नबोली दिन्थेँ । तर, उहाँले 'कृ' को मुनाफाको ५० प्रतिशत शेयर, गीत फिल्मबाट हटाइनु पर्ने र माफी माग्नु पर्ने शर्त राखेपछि म कानुनी रुपमा अगाडि बढ्ने भनेर छलफल गरिरहेको थिएँ । तर, निर्देशक प्रधानले नियतिबस मलाई फसाउनु भयो ।’ 
 
‘प्रहरी कार्यालय भित्र न लेनदेन हुन्छ न त मोलमोलाई । तर ममाथि जर्बजस्ती रुपमा प्रहरी परिसरमै गलत ब्यवहार गरियो ।’ निर्माता गिरी थप्छन्, ‘पैसा यति भए मात्र जाहेरी फिर्ता लिन्छु भन्दै शम्भु प्रधान जंगिनु भयो । मैले आत्मसम्मानका लागि ११ लाख दिन राजी भएँ । उहाँले त सुरुमा २१ लाख मागिरहनु भएको थियो ।’ 
 
आफू गलत नभएको र अन्याय सहेर पनि नबस्ने बताउँदै उनले शम्भु प्रधानसँग फिल्म ‘सम्झना’ नेपालमा दर्ता भएको कागजपत्र नभएको पनि ठोकुवा गरे । ‘मसँग त्यहाँ न पैसा न त चेक नै थियो । मलाई उहाँले ‘सम्झना’ फिल्म निर्माण भएको कम्पनीको नामबाट जाहेरी दिनुभएको थियो । मैले अफिस पुगेर चेक पनि कम्पनीकै नाममा काटिदिन्छु भन्दा उहाँ मान्नुभएन ।’ 
 
‘उहाँले आफ्नो नाममा चेक नकाटे जाहेरी फिर्ता नलिने भन्दै हिँड्नुभयो । यसबाट के बुझ्ने ? उहाँको नियत ठिक थियो त ? ११ लाखका लागि २४ दिन विना कुनै अपराध थुनामा बस्न मेरो आत्मसम्मानले दिएन ।’ गिरीले भने । 
 
 
यस्तै पत्रकार सम्मेलनमा उपस्थित अभिनेता तथा 'कृ' निर्माता भुवन केसीले सुवास गिरीको हातमा हतकडी लगाउनु भनेको आफूलाई हतकडी लगाए सरह रहेको बताए । उनले भने, ‘मैले त सोच्नै सकेको थिइनँ शम्भु दाईले यतिसम्म गर्नुहुन्छ भनेर । उहाँसँग मेरो त्यति मात्र सम्बन्ध थियो । उहाँ ११ लाखमा विक्रि हुनुभयो । म अत्यन्त दुखी छु ।’ उनले अबका दिनमा निर्देशक प्रधानसँग आफ्नो कुनै सम्बन्ध नरहने पनि उद्घोष गरे । 
 
‘सम्झना’ मा समावेश उक्त गीत विना अनुमती फिल्म ‘कृ’ मा राखिएको भन्दै केही हप्ता अगाडि काठमाडौं प्रहरी परिसर, टेकुमा निर्देशक प्रधानले निर्माता भुवन केसीविरुद्ध जाहेरी दर्ता गराएका थिए । 
 
तर, चलचित्र विकास बोर्डमा ‘कृ’ निर्मातामा सुवास गिरीको नाम रहेका कारण प्रहरीले उनलाई मंगलवार साँझ अनुसन्धानका लागि हिरासतमा राखेको थियो । बुधवार दिउँसो प्रहरी परिसर, टेकुमा शम्भु र निर्माता गिरीबिच ११ लाखमा मिलापत्र भएको छ । 
Most Visited News (monthly)