Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तिर्सना बुढाथोकी बन्न ऋचालाई यति सकस !

फिल्मीखबर, काठमाण्डौ, 2018/03/29
नेपाली फिल्म वृत्तमा भर्सटायल अभिनेत्री मानिन्छिन् - ऋचा शर्मा ।  फिल्म ‘को आफ्नो’ मा आफूभन्दा दोब्बर उमेरकी ग्रामीण महिलाको भूमिका, ‘उमा’ मा माओवादी छापामार र ‘टलकजंग भर्सेज टुल्के’ मा घरेलु कामदारका रूपमा उनले सर्वाधिक चर्चा बटुलिन् । 
 
उनी आफूले पाएको भूमिकालाई शतप्रतिशत न्याय गर्न चुक्दिनन् । हरेक फिल्मबाट अभिनयको तारिफ आफ्नो पोल्टामा पारेपनि उनले ‘अनलक्की’ अभिनेत्रीको ट्याग पाएकी छिन् । ऋचाले अभिनय गरेका प्रायः फिल्म फ्लप लिस्टमा छन् । केही फिल्म हिट नभएका होइनन् तर त्यसको श्रेय उनले पाइनन् । 
 
 
अभिनयसँगै उनले पहिलो पटक फिल्म ‘आधा लभ’ निर्माण गरिन्, जसले आधा लगानी पनि उठाएन । उनको दोस्रो निर्माण रहेको हरर फिल्म ‘सुनकेसरी’ वर्ष २०७५ को जेठ ११ गतेबाट प्रदर्शनमा आउँदैछ ।
 
यसभन्दा अगाडि अर्थात्, बैशाख १४ मा उनी अभिनीत तथा अभिनेत्री केकी अधिकारीको पहिलो निर्माण रहेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ हुइँकिदै छ ।  
 
यस फिल्ममा ऋचालाई फेरि एकपटक दर्शकले फरक अवतारमा हेर्न पाउनेछन् । बुधवार सार्वजनिक फिल्मको ट्रेलरबाट पनि धेरथोर अनुमान त पक्कै लगाइसक्नु भयो होला ।
 
यसमा उनी एक डान्स बारमा नृत्य गर्ने युवतीको भूमिकामा छिन् । रोचक कुरा त उनले मोडल तिर्सना बुढाथोकीको नक्कल गर्ने प्रयास गरेकी छिन् । फिल्ममा उनको नाम पनि तिर्सना नै छ । 
 
के ‘कोहलपुर एक्सप्रेस’ मा तिर्सना बुढाथोकी बन्नुभएको हो ? ऋचालाई पत्रकारको प्रश्न तेर्सियो । उनी मज्जाले हाँसिन् । यसपछि निर्देशक विशाल भण्डारीलाई जवाफ दिन भन्दै हातको हाइक पास गरिन् ।
 
निर्देशक भण्डारीले जवाफ दिए, ‘हामीले त्यति धेरै सोचेर चाहीँ गरेका होइनौं । उहाँ भाइरल हुनुहुन्छ । लेखक शान बस्न्यात र मैले ‘स्क्रिन प्ले’ लेखिरहँदा कहिलेकाहिँ उहाँको क्रियाकलाप निहाल्थ्यौं ।’ 
 
उनी हाँस्दै अगाडि भन्छन्, ‘टोनहरु के गर्ने भनेर हामीले ऋचा जीसँग सल्लाह गर्‍यौं । उहाँले सकिन्छ भने गरौंन भनेर भन्नुभयो । खासमा यो चाहीँ दर्शकलाई रमाइलो लाग्छ भनेर गरेका हौं ।’ 
 
यसपछि ऋचाले तिर्सना बुढाथोकीको नक्कल गर्न गरेको संघर्षको बेलिविस्तार सुनाइन् । उनी भन्छिन्, ‘तीन दिन त युट्युबमा भिडियो मात्र हेरेँ । मैले यो क्यारेक्टर निर्देशक विशाल र केकीको आग्रहमा मात्र गरेकी हुँ । यदी यो अरु काहिँबाट आएको हुन्थ्यो भने म अस्वीकार गर्थेँ । यसमा मेरो एकदमै लाउड र चटपटा क्यारेक्टर छ ।’ 
 
 
उनले अगाडि थपिन्, ‘कसैलाई ट्रिब्युट होइन हो र कसैलाई इन्सपिरेसन मानेर गरेको पनि होइन । उहाँको एकदमै इन्ट्रेस्टिङ छ बोलीचाली । त्यो मलाई पनि इन्ट्रेस्टिङ लाग्छ । यसैले पनि केकी र मैले दुई-तीन दिन युट्युबमा डेडिकेट गर्‍यौं । उहाँ कसरी बोल्नुहुन्छ भनेर हेरिसकेपछि मैले एउटा सिन प्रयास नै गरेँ । मैले शतप्रतिशत दिएर हेर्दा मलाई पनि इन्ट्रेस्टिङ लाग्यो । त्यसपछि काम गर्‍यौं ।’ 
 
अन्तिममा उनले मन्द हाँसो छाड्दै आफू तिर्सना बुढाथोकी नभई तिर्सना रहेको बताइन् । ‘कोहलपुर एक्सप्रेस’ मा ऋचासँगै केकी र प्रियंका कार्कीको पनि प्रमुख भूमिका छ ।
 
सार्वजनिक कमेडी ट्रेलरले यस फिल्मप्रति दर्शकमा थप कौतुहलता जगाएको छ । यसअघि नै फिल्ममा समावेश ‘सि-ओे-डब्लु काउ’ गीत हिट भइसकेको छ ।
Most Visited News (monthly)