यस वर्ष प्रदर्शनमा आएको युवा स्टार अनमोल केसी अभिनीत फिल्म ‘कृ’ मा समावेश ‘उकालीमा अघि अघि’ बोलको गीत चोरीको आरोपमा निर्माता सुवास गिरीलाई अनुसन्धानका लागि प्रहरीले हिरासतमा लिएको छ ।
शम्भु प्रधान निर्देशित तथा भुवन केसी अभिनीत फिल्म ‘सम्झना’ मा समावेश यो गीत विना अनुमती ‘कृ’ फिल्ममा राखेको अभियोगमा निर्माता गिरीलाई यतिबेला अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसर, टेकुमा राखिएको छ । उनी मंगलबार साँझ ६ बजे छलफलको लागि प्रहरी परिसर टेकु पुगेका थिए ।
डिएसपी मोहन कुमार थापाले दुबै पक्षसँगको र्वार्ता सफल नभएपछि अनुसन्धानका लागि निर्माता गिरीलाई हिरासतमा राखिएको जानकारी दिए । उनले भने, 'अनुसन्धान पूरा नहुन्जेल उहाँलाई थुनामा राखिनेछ ।'

केही हप्ता अगाडि निर्देशक प्रधानले गीत चोरेको आरोपमा प्रहरीमा जाहेरी दिएका थिए । पटक-पटक फिल्मबाट गीत हटाउन आग्रह गरेपनि ‘कृ’ टिमले बेवास्था गरेका कारण प्रहरीले निर्माता गिरीलाई अनुसन्धानका लागि हिरासतमा राखेको हो ।
प्रधानले निर्माता भुवन केसीविरुद्ध पनि जाहेरी दर्ता गराएका थिए । तर, चलचित्र विकास बोर्डको दर्ता फाइलमा सुवास गिरीको नाम मात्र निर्मातामा उल्लेख छ । कानुनी रुपमा केसी निर्माता नभएको खुलेपछि गिरीविरुद्ध मुद्दा चलाउन लागिएको हो ।
प्रतिलिपि अधिकार ऐनअनुसार दोषी ठहर भए ६ महिनासम्म कैद सजाय हुनसक्छ । त्यस्तै, मागअनुसार क्षतिपूर्ति र जरिवाना समेत हुन सक्ने व्यवस्था छ ।
राम्रा फिल्म निर्माण गर्ने निर्माताको सूचीमा सुवास गिरीको नाम अग्रपंक्तिमा आउँछ । उनले 'कृ' सँगै 'नोभेम्बर रेन', 'क्लासिक', 'पर्व' फिल्म निर्माण गरिसकेका छन् ।
उनी चाँडै युवा स्टार प्रदीप खड्कालाई लिएर 'भैरवी' निर्माण गर्दैछन् । यसपछि उनी पुनः अनमोल केसीलाई लिएर 'कृ २' निर्माण गर्ने तयारीमा छन् ।

