नेपालमा धेरै हिट फिल्मका सिक्वेल निर्माण भए तर अधिकांशले साख जोगाउन सकेनन् । पटक-पटक सफल फिल्मको ब्राण्ड बेचेर कमजोर कथावस्तु पेश गर्ने गरेका कारण पछिल्लो समय दर्शकमा सिक्वेलप्रतिको मोह नै हराउँदै गएको छ । तर, ‘नाईं नभन्नू ल’ को हकमा भने यस्तो छैन ।
.jpg)
दर्शक रुनकै लागि भएपनि एकपटक यो फिल्म हेर्न हलसम्म पुग्ने गर्छन् । त्यसैले त चार शृंखला लगालग हिट भए । कथावस्तु सँगसँगै मर्मस्पर्शी गीतसंगीत यो शृंखलाको अर्को सबल पक्ष होे ।
अब यसको पाँचौ शृंखला दर्शकले अर्को वर्षको भदौ ८ गते हेर्न पाउने भएका छन् । सोमवारदेखि झापाको बिर्तामोडबाट ‘नाईं नभन्नू ल ५’ को औपचारिक सुटिङ आरम्भ भएको छ ।
.jpg)
झापा र इलामका रमणीय स्थानमा खिचिने फिल्मको झापास्थित सालबारी पोखरीबाट फिल्मको सुटिङ सुरु भएको हो । पहिलो दिन अभिषेक नेपाल र स्वस्तिमा खड्काले सट दिएका थिए ।
कान्तिपुर फिल्म एकेडेमीमा पढ्दै गर्दा निर्देशक विकास आचार्यको नजरमा परेका अभिषेकले यही फिल्मबाट डेब्यु गर्न लागेका हुन् ।
.jpg)
अभिषेक फिल्ममा स्वस्तिमाको जोडीको रुपमा देखिनेछन् । हरेक फिल्मबाट नयाँ अनुहार भित्राउँदै आएका आचार्यले यो फिल्मबाट पनि अभिषेकसँगै सेड्रिना शर्मालाई लन्च गर्दैछन् । झापा मै मूलघर भएकी सेड्रिनाले अनुभव रेग्मीको जोडीको रुपमा अभिनय गर्नेछिन् ।
.jpg)
निर्देशक आचार्यले झापाको बिर्तामोडमा ३ दिन र इलाममा २५ दिन सुटिङ गरी काठमाडौं फर्कने जानकारी गराए । ‘काठमाडौंमा हप्ता दिनको सुटिङपछि फिल्म सकिन्छ,’ आचार्यले भने, ‘कथामा पहिलाका शृंखलाको स्वाद भए पनि यो पटक प्रस्तुतिमा धेरै मेहनत गरिएको पाउनु हुनेछ ।’
.jpg)
‘नाईं नभन्नू ल ५’ मा यसपटक दिलिप रायमाझी र केकी अधिकारी थपिएका छन् । दोस्रो शृंखलादेखि जोडिएकी प्रियंका कार्कीले यो भागमा पनि निरन्तरता पाएकी छिन् ।
विकास आचार्य र सामीप्यराज तिमल्सेनाको लेखन रहेको फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्दैछन् भने फिल्मको संगीत बसन्त सापकोटाले तयार पारेका छन् ।

