महँगो पारिश्रमिक लिने कम अभिनेताहरूको सूचीमा अग्रपंक्तिमा आउने अभिनेता प्रदीप खड्काले ‘प्रेमगीत’ तथा ‘प्रेमगीत–२’ फिल्मबाट राम्रै क्रेज बनाएका छन् ।
अधिकांश निर्माता–निर्देशकहरू उनलाई अभिनय गराउन तयार छन् । प्रदीपलाई लिएपछि फिल्मको लगानी सुरक्षित ठान्दछन् निर्माताहरु ।
.jpg)
रुन्चे हिरोको छवि बनाएका उनले एक फिल्म बापत २० लाख बढी पारिश्रमिक बुझ्न गर्छन् । यही चैत ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लिलिबिली’ मा उनले २२ लाख पारिश्रमिक लिएको चर्चा छ ।
यो फिल्म बक्सअफिसमा हिट भएको खण्डमा उनको पारिश्रमिक थप चर्किनेमा दुई मत छैन । उनी आफ्नो अभिनयको दमले भन्दा पनि ‘प्रेमगीत’ को नामका कारण यो स्थानमा पुगेको मान्नेहरु धेरै छन् । उनको क्रेजका कारण फिल्म हिट हुनेमा अझै शंका गरिन्छ ।
‘प्रेमगीत’ आफैंमा बलियो ब्राण्ड भएका कारण ‘प्रेमगीत २’ हिट भएको मान्नेहरु पनि उतिक्कै छन् । यसो भनिरहँदा प्रदीपको क्रेज रत्ती छैन भन्न खोजिएको होइन तर अब उनले आफ्नो तागत देखाउने समय आएको छ, जसका लागि ‘लिलिबिली’ नै काफी हुन्छ ।
यो फिल्म बक्सअफिसमा हिट भएको खण्डमा सम्पूर्ण श्रेय प्रदीपलाई नै जानेछ । अहिलेको अवस्थामा उनका कारण फिल्मको इनिसियल व्यापार आक्रामक हुने आँकलन चलचित्रकर्मीको छ ।
‘लिलिबिली’ लाई बक्सअफिसमा डुवाउने वा उतार्ने त्यो उनकै हातमा छ । ‘प्रेमगीत’ कै कारण ‘स्टार’ भएको भन्ने आरोपबाट मुक्त हुन पनि प्रदीपका लागि यो फिल्मले सुखद नजिता ल्याउनै पर्ने हुन्छ ।
आइतवार यस फिल्मको तेस्रो गीत ‘हावा सरी’ रिलिज कार्यक्रममा उपस्थित प्रदीपले ‘लिलिबिली’ आफ्नो फिल्मी डेब्यु रहेको बताए ।
.jpg)
उनी भन्छन्, ‘फिल्ममा डेब्यु एक पटक मात्र हुन्छ । मलाई चाहीँँ यस्तो सिच्वेसन बनाइदियो कि ‘प्रेमगीत’ पछि फेरि एकपटक डेब्यु गर्नु पर्ने भइरहेको छ । ‘प्रेमगीत’ पछाडि यदी मैले हेर्ने हो भने ‘लिलिबिली’ मेरो फिल्मी डेब्यु नै हो ।’
उनी स्वंम आफ्ना लागि ‘प्रेमगीत’ को छाप मेट्न अपरिहार्य रहेको आशय व्यक्त गर्छन् । ‘प्रेमगीत’ मा पूजा शर्मा र‘प्रेमगीत २’ मा अश्लेषा ठकुरीसँग रोमान्स गरेका प्रदीपले ‘लिलिबिली’ मा दुई नायिकासँग स्क्रिन शेयर गरेका छन् ।
नव-अभिनेत्री जसिता गुरुङ र अभिनेत्री प्रियंका कार्की उनको अपोजिटमा छन् । मिलन चाम्स फिल्मका निर्देशक हुन् ।

