चैत २३ गतेलाई प्रदर्शन मिति तय गरिएको अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर फिल्म ‘तिमीसँग’ को दुई गीत रिलिज भएसँगै धेरैका लागि ट्रेलर प्रतिक्षामा थियो ।
अन्ततः गएको हप्ता प्रेम, रोमान्स, विछोड र कमेडी मिश्रित ट्रेलर निर्माण पक्षले इन्टरनेटमा रिलिज गर्यो । युट्युब रिलिज लगत्तै फिल्मको ट्रेलर भाइरल बनेको छ ।
५ लाख ७८ हजार बढी पटक क्लिक भइसकेको ट्रेलरले अहिले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । १२ हजार लाइक्स मिलेको ट्रेलरको कमेन्ट बक्समा अधिकांशले तारिफको शब्द कोरेका छन् ।

केहीले साम्राज्ञीलाई 'नेपालको नम्वर वान नायिका' भनेर लेखेका छन् त कतिले अभिनेता आकाश श्रेष्ठ 'मन पर्यो' भन्दै कमेन्ट लेखेका छन् ।
प्रायः अधिकांशले भने अभिनेता नाजिर हुसेनको तारिफ गरेका छन् । ११ सयभन्दा बढी कमेन्टमा नाजिरलाई निकै राम्रो कमेन्ट प्राप्त छ । कमेन्टमा श्रद्धा तिमल्सिना लेख्छिन्, 'नाजिर, हजुरलाई हेर्न भए नी फिल्म हेर्न जान्छु ।'
विमला तामाङले 'ग्रेट नाजिर' भन्दै कमेन्ट गरेकी छिन् । यस्ता सयौं कमेन्ट नाजिरका लागि लेखिएका छन् । ट्रेलरमा उनले बोलेका केही 'कमेडी पञ्च लाइन' ले फिल्मप्रति दर्शकमा झनै उत्सुकता जगाइदिएको छ ।
नेपालको युट्युब ट्रेन्डिङको 'नम्वर वान' मा पर्न नसकेपनि ‘तिमीसँग को ट्रेलर ट्रेन्डिङको लिस्टबाट भने बाहिरिएको छैन । अहिले फिल्मको ट्रेलर नेपालको युट्युब ट्रेन्डिङको २७ औँ स्थानमा छ ।
प्रेमकथामा आधारित एउटा पूर्ण फिल्म हेर्न चाहने दर्शकका लागि निर्देशक शिशिर राणाले गतिलो प्याकेज लिएर आएको ट्रेलर हेर्दा महशुश गर्न सकिन्छ ।
ट्रेलर हेर्नुहोस् :-
राणा यो फिल्मबाट निर्देशनमा डेब्यु गर्दैछन् । फिल्मको कथा पनि निर्देशक तथा निर्माता शिशिरकै हो । विदेशबाट घुम्न आएकी एक युवतीसँग दुई पुरुष पात्रको रमाइलो जर्नीको कथा फिल्मले वाचन गरेको छ ।
फिल्ममा रोशन भट्टराईको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी र सुशिल क्षेत्रीको छायांकन छ । शिशिर राणा, साकार ओझा, समुन्द्र उप्रेती र सुशिल क्षेत्रीको पटकथा फिल्ममा छ ।

