Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आफ्नो अनुहारमा कुकुर मिक्स हुँदा दीपकको यस्तो रियाक्सन

फिल्मीखबर, काठमाण्डौ, 2018/03/20
दीपकराज गिरी हास्यकलाकार मात्र होइनन् । उनले फिल्म ‘६ एकान ६’ देखि ‘छक्का पञ्जा २’ सम्म आइपुग्दा लेखक, निर्माता, अभिनेताको रुपमा समेत आफूलाई बलियो रुपमा प्रस्तुत गरिसकेका छन् । अब चाँडै उनी ‘छक्का पञ्जा ३’ लिएर फ्लोरमा निस्कँदैछन् । 
 
यसभन्दा अगाडि उनी अभिनीत नयाँ फिल्म ‘शत्रु गते’ चैत ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । उक्त फिल्ममा अभिनेत्री प्रियंका कार्कीसँग दीपकराजको जोडी बाँधिएको छ । तर, क्यारेक्टर भने नेगेटिभ छ । 
 
फिल्मको ट्रेलरको एक दृश्यमा उनको अनुहारमा कुकुर मिक्स गरिएको छ र लेखिएको छ, ‘कुकुरदेखि होसियार ।’ यो सिन यतिबेला सामाजिक सञ्जालमा खुब भाइरल बनेको छ । धेरै ट्रोल समेत बनेका छन् । दीपकले भने यो सिनलाई कसरी हेरेका छन् ?
 
 
आइतवार फिल्मको विषयमा जानकारी दिन आयोजित पत्रकार भेटघाटमा उनले आफ्नो टाउकोमा कुकुरको अनुहार मिक्स हुँदा आफैं अचम्ममा परेको सुनाए । 
 
उनी भन्छन्, ‘दीपकले के भन्छ भनेर सायद यो कुरामा डाइरेक्सन टिम पनि अफ्ठ्यारो मानिरहेको छ होला । मेरो थोप्डामा कुकुर मिक्स हुन्छ भनेर मलाई नै थाहा थिएन । त्यो पहिलो स्क्रिप्टमा थिएन । पछि उहाँहरुले क्रियटिभिटीमा काम गर्दागर्दा मेरो अनुहारमा कुकुर मिक्स गर्नुभएछ ।’ 
 
उनले आफ्नो टाउकोमा कुकुर मिक्स हुँदा राम्रो देखिएको पनि बताए । उनी हँसिलो मुद्रामा अगाडि थप्छन्, ‘त्यो सबैलाई सुहाउँदैन । कुकुर भनेको इमान्दारिताको प्रतिक पनि हो । फिल्मको काममा मलाई जे बनाए पनि म खुसी हुन्छु ।’ 
 
उनी ‘शत्रु गते’ मा अभिनेता पल शाह र अभिनेत्री आँचल शर्माको प्रेममा भिलेन बनेका छन् । तर, दीपकराज फिल्ममा भिलेन बलियो नभएसम्म फिल्म बलियो नहुने तर्क राख्छन् । 
 
‘खलपात्र बलियो भएन भने न हिरो न त हिरोइन नै बलियो हुन्छ । दुःख भनेको खलनायक हो । सुख भनेको नायक हो । हरेकको मनमा खलनायक र नायक दुबै छ । फिल्ममा मैले त्यो खलनायकको पाटो समात्न पाएकोमा खुसी छु ।’ उनले भने । 
 
अनुमती विनै दीपकराजको अनुहारमा कुकुर मिक्स गरिएको हो त ? फिल्मका निर्देशक प्रदीप भट्टराई उक्त सिन स्क्रिप्टमा नै उल्लेख भएको बताउँछन् । ‘फिल्म हेरेपछि उक्त सिनको महत्व थाहा हुन्छ । त्यो दृश्य राख्न आवश्यक भएरै राखेका हौं ।’ निर्देशक भट्टराईले भने । 
 
यस फिल्ममा दीपकसँगै पल शाह, आँचल शर्मा, हरिवंश आचार्य, दीपाश्री निरौला, प्रियंका कार्की, मदनकृष्ण श्रेष्ठ, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, बसुन्धरा भुषाललगायतको पनि अभिनय छ ।
 
Most Visited News (monthly)