चैत ९ गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको फिल्म ‘शत्रु गते’ को प्रचारमा व्यस्त अभिनेता पल शाह गएको शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘मंगलम’ हेर्न हल पुगेका छन् । फिल्म हेरेपछि उनले आफ्नो आधिकारिक फेसबुकमार्फत अभिनेता पुष्प खड्काको प्रशंसा गर्न विर्सिएनन् ।
पल लेख्छन्, ‘मंगलम’ उत्कृष्ट चलचित्र बनेको रहेछ । पुष्प खड्काले धेरै राम्रो काम गरेको छ । सम्पूर्ण टिमलाई बधाई ।’ पल र पुष्प म्यूजिक भिडियामा सबैभन्दा चलेका अनुहार हुन् । भिडियोमा यी दुईलाई प्रतिस्पर्धी मोडलको रुपमा समेत हेरिने गरिन्छ ।

प्रमुख भूमिका निर्वाहा गरेको फिल्म ‘दर्पण छायाँ २’ असफल भएपनि पुष्पलाई ‘मंगलम’ ले भने ठूलो राहत दिएको छ । यो फिल्मबाट उनले ‘स्टार’ अभिनेताको पंक्तिमा आफूलाई उभ्याउन सफल भएको चर्चा सुरु हुन थालेको छ । पक्का छ, पुष्पलाई ‘मंगलम’ ले अन्य ठूला ब्यानरका फिल्मका लागि अब बाटो खोलिदिएको छ ।
शुक्रवारबाट दोस्रो हप्तामा प्रदर्शन आरम्भ गरेको उक्त फिल्मले अधिकांश सिंगल 'स्कृन' मा दर्शकको राम्रो साथ पाइरहेको छ । मल्टिप्लेक्समा फिल्मको शोमा वृद्धि भइरहेको छ । कथा, पटकथा, संवाद, कलाकारको अभिनय र निर्देशकीय पक्षलाई दर्शकले औधी रुचाएका छन् ।
बाघ निर्माताको रुपमा चिनिएका छविराज ओझा निर्मित २३ औँ फिल्म ‘मंगलम’ मा शिल्पा पोख्रेल, पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, पृथ्वीराज प्रसाइ, नीर शाह, मिथिला शर्मा लगायतका कलाकारहरुको अभिनय छ । नवल नेपाल फिल्मका निर्देशक हुन् ।
पारिवारिक प्रेमकथामा आधारित उक्त फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, विष्णु घिमिरेको छायांकन, गोविन्द फूयाँलको शब्द, मित्रदेव गुरुङको सम्पादन, गोविन्द र नवल नेपालको संवाद छ ।

