हास्यप्रधान प्रेमकथामा फिल्म ‘चौका दाउ’ निर्माण हुने भएको छ । बिहिबार राजधानीमा एक समारोहबीच यो फिल्मको औपचारिक निर्माण घोषणा गरिएको छ ।
बरिष्ठ संगीतकार एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजीत बासकोटाको कथा र संगीत रहेको यो फिल्मलाई उनकै छोरा सौर्यजीव बासकोटाले निर्माण गर्न लागेका हुन् ।
संगीतकार बासकोटाको जन्मदिनको अबसर पारेर फिल्मको निर्माण घोषणा गरिएको हो । बैशाखबाट छायांकन सुरु गरिने उक्त फिल्मलाई आगामी तिहारमा रिलिज गरिने निर्माता सौर्यजीवले जानकारी दिए । ‘चौका दाउ’ लाई पूर्णेन्दु झाले निर्देशन गर्दैछन् ।

फिल्ममा विल्सन बिक्रम राई (तक्मे बुढा), रबिन्द्र झा, सन्तोष पन्त, तैयब शाहको लिड रोल रहनेछ । यस्तै, निर्मल शर्मा, प्राज्ञहरु रमेशरञ्जन झा, पुष्करबहादुर गुरुङ पनि बिशेष भूमिकामा रहने निर्देशक झाले जानकारी दिए । फिल्ममा नायक र नायिका चयन हुन बाँकी छ ।
घोषणा सभामा बोल्दै अग्रज कलाकार सन्तोष पन्तले कथा सशक्त र रमाईलो रहेकाले आफूले यस चलचित्रमा अभिनय गर्न लागेको बताए । फिल्मको निर्मातामा मनोजराज भण्डारी पनि छन् ।
यसमा दीर्घ गुरुङको छायांकन, शम्भुजीत बासकोटाको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, मित्रदेव गुरुङको सम्पादन, चन्द्र पन्तको द्धन्द्ध निर्देशन, बसन्त श्रेष्ठ र मौसम हिमालीको नृत्य निर्देशन रहनेछ ।

