फ्राईडे रिलिज अन्तर्गत यो हप्ताको शुक्रवार ऐतिहासिक विषयवस्तुमा आधारित फिल्म ‘पञ्चायत’ प्रदर्शनमा आएको छ । केही दिन अगाडि राजधानीमा आयोजना गरिएको भिआईपी शोमा उत्कृष्ट प्रतिक्रिया बटुलेको फिल्मले देशभर पाँच दर्जनभन्दा बढी हल पाएको छ ।
‘पञ्चायत’ सँग अन्य ठूला ब्यानरका फिल्म रिलिज नभएका कारण यो फिल्मको विजनेश सुखद हुने अपेक्षा निर्माण टिमको छ । अभिनेता सरोज खनाल र अभिनेत्री नीता ढुंगानाको प्रमुख भूमिका रहेको फिल्मका निर्देशक शिवम् अधिकारी हुन् । नीताले फिल्ममा १४ वर्षे एक किशोरीको भूमिका निर्वाहा गरेकी छिन् ।
यो फिल्मले अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा विभिन्न अवार्डसमेत जितेको छ । ‘पञ्चायत’ मा रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठलगायतको पनि अभिनय छ ।
.jpg)
ग्रामीण परिवेश र पुरानो संस्कृति झल्काउने फिल्ममा गणेश गिरीको प्रस्तुति तथा सुशान्त श्रेष्ठ र शंकर सुवेदीको लगानी छ । चितवनका सञ्चारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्ममा टंक बुढाथोकीको संगीत, रामेश्वर कार्कीको छायांकन र विपिन मल्लको सम्पादन छ ।
यो फिल्मसँग विना प्रचार स्वर्गीय निर्देशक दिपक रायमाझी निर्देशित ‘डेस्टिनेशन काठमाडौं’ र एनआर घिमिरेले निर्देशन गरेको फिल्म ‘इन्काउन्टर गल्ली’ पनि प्रदर्शनमा आएको छ ।
‘डेस्टिनेशन काठमाडौं’ मा दीलिप रायमाझी र झरना थापा प्रमुख भूमिकामा छन् । यस्तै, ‘इन्काउन्टर गल्ली’ मा गजित बिष्ट, नवराज राउत, स्वेता खड्का लिड रोलमा छन् ।
यी नेपाली फिल्मसँग मल्टिप्लेक्स टार्गेटेड बलिउड सुपरस्टार अजय देवगन र इलियाना डिक्रुजको फिल्म ‘रेड’ पनि प्रदर्शनमा आएको छ । गएको हप्ता प्रदर्शनमा आएको नेपाली फिल्म ‘मंगलम’ ले अझै १ दर्जन बढी 'सिंगल स्कृन' मा आफ्नो उपस्थिति कायमै राखेको छ ।

