पैसा छाप्ने मेशिन अर्थात्, अभिनेता प्रदीप खड्का । फिल्म ‘प्रेमगीत’ देखि ‘प्रेमगीत २’ सम्म आइपुग्दा उनले आफूलाई ‘स्टार’ अभिनेताको पंक्तिमा उभ्याइसकेका छन् । उनलाई फिल्ममा लिए निर्माता आफ्नो लगानी सुरक्षित भएको महशुस गर्छन् । त्यसैले त अहिले प्रदीपलाई आफ्नो फिल्ममा साइन गराउन निर्माताको होड गज्जब छ ।
यस्तैमा उनले अभिनय गरेको नयाँ फिल्म ‘लिलिबिली’ चैत ३० गतेबाट देशैभर प्रदर्शनमा आउँदैछ । यो फिल्ममा उनले २२ लाख पारिश्रमिक बुझेको सिनेवृतमा चर्चा छ ।
गीत र ट्रेलरले बनाएको हाइपका कारण उक्त फिल्मले बक्सअफिसमा सुखद नजिता ल्याउने धेरैले अनुमान लगाएका छन् । प्रदीप पनि आफ्नो करिअरलाई थप चम्काउन यस फिल्मको रिलिज कुरेर बसेका छन् ।
मिलन चाम्स निर्देशित ‘लिलिबिली’ मा प्रदीपसँगै जसिता गुरुङ, प्रियंका कार्की, अनुप विक्रम शाही लगायतका कलाकारहरुको अभिनय छ ।
यसैबीच, बुधवार अभिनेता प्रदीपले निर्देशक मिलन चाम्सले निर्देशन गर्ने नयाँ फिल्म ‘सोलीडोली’ साइन गरेको खबर बाहिरियो । यस विषयमा निर्देशक चाम्सले कुनै जानकारी दिन चाहेनन् ।
(1)(1).jpg)
बिहीवार फिल्मीखबर डटकमसँग कुरा गर्दै अभिनेता प्रदीपले आफूले तत्काल कुनै नयाँ फिल्म साइन गरेको स्पष्ट पारे । उनले भने, ‘मैले ‘लिलिबिली’ गर्दाखेरि नै फिल्म ‘भैरवी’ साइन गरेको थिएँ । त्योभन्दा बाहेक मैले अरु कसैलाई पनि फिल्ममा काम गर्ने वचन दिएको छैनँ । ‘सोलीडोली’ को विषयमा कुराकानी भएको हो तर गर्ने वा नगर्ने भन्ने विषयमा मैले निर्णय दिएको छैनँ ।’
‘लिलिबिली’ रिलिज लगत्तै बैशाखबाट सुरु हुन लागेको दिनेश राउतको निर्देशन र सुवास गिरीले निर्माण गर्ने फिल्म ‘भैरवी’ मा प्रदीप व्यस्त हुँदैछन् ।
स्रोतका अनुसार, यदी यो फिल्म फ्लोरमा जान ढिलाई भए उनी त्यसअघि गोपीकृष्ण ब्यानरमा निर्माण हुन लागेको नयाँ फिल्ममा काम गर्दैछन् । योसँगै उनी ‘प्रेमगीत ३’ मा पनि अनुवन्धित भइसकेको खबर प्राप्त छ ।
प्रदीप अगाडि थप्छन्, ‘लिलिबिली २’ बन्ने कुरा छ । बरु यो फिल्म गर्ने इच्छा भने ममा रहन सक्छ । ‘सोलीडोली’ मा तत्काल काम गर्ने चाहना छैनँ । आशा गर्छु पछि रिप्लेस भयो भन्ने खबर सुन्न नपरोस् ।’
उता निर्देशक चाम्ले पनि ‘लिलिबिली’ पछि आफ्नो नयाँ प्रोजेक्ट ‘वीर विक्रम २’ रहेको फेसबुकमा स्टाटस लेख्दै जानकारी दिएका छन् ।

