दर्शकमाझ प्रतिक्षामा रहेको फिल्म ‘शत्रु गते’ ले मोफसल टुर सकेको छ । आउँदो चैत्र ९ मा प्रदर्शनमा आउने फिल्मको बारेमा जानकारी गराउने तथा दर्शकसँग प्रत्यक्ष भेटघाट गर्ने उद्देश्यले टुरको आयोजना गरिएको थियो ।

रुस्लान भोड्कासँगको सहकार्यमा ‘रुस्लान मह शत्रु गते यात्रा २०७४’ नाम दिइएको टुरमा फिल्मका निर्माता तथा कलाकार हरिवंश आचार्य, प्रस्तुतकर्ता किरण केसी, अभिनेत्री दीपाश्री निरौला, शिवहरि पौडेल, पल शाह र आँचल शर्मा सहभागी थिए ।
गत फागुन २३ मा हेटौंडाबाट सुरुवात भएको टुर २४ गते नारायणगढ, २५ गते बुटवल, २६ गते पोखरा, २८ गते बिर्तामोड, २९ गते दमक हुँदै ३० गते इटहरी पुगेर सकिएको हो ।
माथी उल्लेखित ठाउँमा आयोजना गरिएको कन्सर्टमा दर्शकको उपस्थिति उत्साहजनक रहेको प्रस्तुतकर्ता किरण केसी बताउँछन् । उनले भने, ‘हामीले जहाँ कार्यक्रम गर्यौं त्यहाँ दर्शकको भीड थामिसक्नु थिएन । अधिकांश दर्शकले फिल्म हेर्न आतुर रहेको बताउनुभएको छ । हामी दर्शकको साथ र मायाबाट थप उत्साहित भएका छौं ।’
फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक प्रदीप भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसँग मिलेर तयार गरेका हुन् ।

यसमा छायांकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । ‘शत्रु गते’ मा दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् ।
प्रदीप भट्टराई निर्देशित फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, राजाराम पौडेल, मदनकृष्ण श्रेष्ठ, बसुन्धरा भुषाल, रमेश रञ्जनलगायतका कलाकारको पनि प्रमुख भूमिका छ । मल्टिस्टार कलाकार भएका कारण यो फिल्म हिट हुने अड्कल काटिएको छ ।

