Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यसकारण चल्नैपर्छ नीतालाई ‘पञ्चायत’

फिल्मीखबर, काठमाण्डौ, 2018/03/15
५० बर्ष अगाडिको सामाजिक संरचना र त्यो समयका किशोरीहरुको यौन मनोविज्ञानलाई समाजले हेर्ने दृष्टिकोण र छाउपडी प्रथामा बस्ने किशोरीको पीडालाई प्रस्तुत गरिएको फिल्म ‘पञ्चायत’ भोली शुक्रवारबाट देशैभर प्रदर्शनमा आउँदैछ । 
 
अभिनेता सरोज खनाल र अभिनेत्री नीता ढुंगाना फिल्ममा प्रमुख भूमिकामा छन् । फिल्मको कथा नै यी दुईको वरिपरि घुमेको छ । सरोजले गाउँको प्रमुख व्यक्तिको भूमिका निर्वाहा गरेका छन् भने, नीता १४ वर्षकी किशोरीको रुपमा प्रस्तुत भएकी छिन् । विशेषतः उक्त फिल्म अभिनेत्री नीताका लागि महत्वपूर्ण छ । 
 
फिल्म ‘मसान’ पछि उनका सम्झनलायक फिल्म छैनन् । न त बक्सअफिसमा नै उनका फिल्म सफल साबित भएका छन् । लगालग फिल्म असफल भइरहे पनि उनको हातमा फिल्मको कमी भने छैनन् । एकपछि अर्को फिल्ममा व्यस्त भइरहेकी छिन् । 'अनलक्की' नायिकाको रुपमा चिनिन थालेका कारण उनलाई ‘पञ्चायत’ बक्सअफिस हिट हुन अत्यन्त आवश्यक छ । 
 
आफू अभिनीत फिल्मको प्रचारमा नहिँड्ने अभिनेत्रीको ट्याग नीताले पनि पाएकी छिन् । तर, ‘पञ्चायत’ को हकमा भने उनले प्रशस्तै समय छुट्याएकी छन् । मोफसल प्रचारदेखि मिडियामा फिल्मको विषयमा बोल्न उनी दिनरात हिँडिरहेकी छिन् । यसबाट के प्रष्ट हुन्छ भने उनी यो फिल्मबाट निकै आशावादी छिन् । 
 
 
केही दिन अगाडि राजधानीमा गरिएको भिआईपी शोमा फिल्मले राम्रो तारिफ पाएको थियो । नीता अब दर्शकको प्रतिक्रिया लिन आतुर छिन् । २५ वर्षको उमेरमा १४ वर्षे किशोरीको भूमिका निर्वाहा गर्नु आफ्ना लागि चुनौती रहेको नीता बताउँछिन् ।
 
उनी भन्छिन्, ‘७ वर्ष अगाडि नै मकहाँ यो फिल्मको स्क्रिप्ट आएको थियो । त्यतिबेला मैले त्यो भूमिकामा फिट हुँदिन भनेर रिजेक्ट गरेँ । फेरि निर्देशक शिवम् अधिकारीले मलाई १४ वर्षे युवतीको भूमिका निर्वाहा गर्न सक्छौं भनेर आत्मविश्वास दिलाउनुभयो । राम्रो स्क्रिप्ट भएका कारण मलाई फिल्म छोड्न मन थिएन । अनि, ‘पञ्चायत’ गरेँ ।’
 
फिल्ममा निर्वाहा गरेको भूमिकालाई दर्शकले कस्तो भन्नेहुन् भन्नेमा पनि उनीलाई खुब डर र चिन्ता छ । चलचित्रकर्मीले भने यस फिल्ममा निर्वाहा गरेको भूमिकापछि नीताले आफूलाई ‘भर्सटायल’ अभिनेत्रीको रुपमा उभ्याउन सफल भएको प्रतिक्रिया दिएका छन् । 
 
फिल्ममा शिवम अधिकारीको लेखन र निर्देशन छ । ‘पञ्चायत’ मा रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठलगायतको पनि अभिनय छ । 
 
ग्रामीण परिवेश र पुरानो संस्कृति झल्काउने फिल्ममा गणेश गिरीको प्रस्तुति तथा सुशान्त श्रेष्ठ र शंकर सुवेदीको लगानी छ । चितवनका सञ्चारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्ममा टंक बुढाथोकीको संगीत, रामेश्वर कार्कीको छायांकन र विपिन मल्लको सम्पादन छ ।
Most Visited News (monthly)