एकै मितिमा एकभन्दा बढी फिल्मले एकसाथ सिनेमा घरमा भिडन्त आरम्भ गर्नु यहाँ अहिले सामान्य भइसकेको छ । हालैमा ‘मंगलम’, ‘हुर्रे’ र ‘गाजा बाजा’ ले एकसाथ प्रदर्शन आरम्भ गर्दा सिनेबजारमा ठूलै तरंग ल्यायो ।
यस्तैमा आउँदो चैत ३० गते हुन लागेको दुई स्टार अभिनेताको भिडन्तले फेरि अर्को चर्चाको विषयलाई जन्म दिएको छ । यो मितिमा युवा स्टार प्रदीप खड्काको फिल्म ‘लिलिबिली’ र दयाहाङ राई अभिनीत फिल्म ‘नेप्टे’ देशैभर एकसाथ प्रदर्शनमा आउँदैछ ।
अहिलेको अवस्थामा यी दुबै नायकको क्रेज बलियो छ । दयाको खस्कँदै गएको क्रेज यस वर्ष प्रदर्शनमा आएको फिल्म 'मिस्टर झोले' र 'कान्छी' ले धेरै माथी उठायो ।

उता, प्रदीप अहिलेको अवस्थामा बलियो क्रेज बोकेका अभिनेता पर्छन् । 'प्रेमगीत' बाट रातारात चम्किएका उनले 'प्रेमगीत २' सम्म आइपुग्दा आफूलाई युवा स्टारको रुपमा उभ्याइसकेका छन् । चैत ३० मा दुई पुस्ताको प्रतिनिधित्व गर्ने अभिनेताको महासंग्रामलाई लिएर अहिले सिनेवृतमा बहस नै सुरु हुन थालेको छ ।
यी दुबै फिल्मको गीत र ट्रेलर सार्वजनिक भइसकेका छन् । ‘लिलिबिली’ र ‘नेप्टे’ हेर्न दर्शक आतुर छन् । तर कुन हेर्ने ? दर्शक कन्फ्यूजमा परेका छन् ।
चकलेटी अनुहारले हजारौ युवतीका ढुकढुकी बनेका प्रदीप र जस्तोसुकै भूमिकामा आफूलाई फिट राख्न सफल दयाको यो भिडन्तमा को अगाडि होला ? त्यो हेर्न बाँकी छ । तर, यी दुई अभिनेताको महायुद्ध हेर्न लायक हुनेमा शंका छैन ।
‘लिलिबिली’ लाई मिलन चाम्सले निर्देशन गरेका हुन् । फिल्ममा प्रदीपका अलावा जसिता गुरुङ, प्रियंका कार्की, अनुप विक्रम शाही लगायतका कलाकारहरुको अभिनय छ ।
यस्तै, देव कुमार श्रेष्ठ निर्देशित ‘नेप्टे’ मा दयाका अलावा रोहित रुम्बा, छुल्ठिम गुरुङ्ग, वुद्दि तामाङ लगायतका कलाकारको प्रमुख भूमिका छ ।

