फ्राईडे रिलिज अन्तर्गत शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएका तीन नेपाली फिल्म ‘हुर्रे’, ‘मंगलम’ र ‘गाजा बाजा’ को ओपनिङ कस्तो रह्यो धेरैको कौतुहलताको विषय हुनसक्छ । एकसाथ प्रदर्शनमा आउँदा तीनवटै फिल्मलाई व्यापारमा ठूलो असर गरेता पनि ‘मंगलम’ अन्य दुई फिल्मभन्दा माथी छ ।
अभिनेत्री शिल्पा पोखरेल स्टारर यो फिल्मले सुखद ओपनिङ गरेको छ । शुक्रवार ५५ प्रतिशत रहेको फिल्मको अकुपेन्सी शनिवार करीब शतप्रतिशत रह्यो । बिहानी, दिवा र रात्री शो राजधानी सहित देशैभरका अधिकांश सिंगल स्कृनमा ‘मंगलम’ हाउसफुल छ । राजधानीका मल्टिप्लेक्समा पनि शनिवार बिहानैदेखि दर्शकको चाप देखिन्थ्यो ।
राजधानीका गोपीकृष्ण, अष्टनारायण, गुण, गंगा जस्ता मध्यम वर्गीय दर्शकको चाप रहने हलमा फिल्मले पकड जमाएको छ । शुक्रबारको सुखद व्यापारिक नतिजाका कारण हलवालाले शनिबार बिहानैदेखि थप स्क्रिन उपलब्ध गराएका छन् । दर्शकको उत्साहजनक उपस्थितिका कारण आइतवारबाट मल्टिप्लेक्समा समेत फिल्मले थप शो पाउने खबर प्राप्त छ ।
काठमाडौं बाहिरका चितवन, पोखरा, वुटवल, दमक, विर्तामोड, धरान, इटहरीमा पनि दर्शकको उपस्थिति आक्रामक देखिएको वितरक कम्पनी एफडीले जानकारी दिएको छ । शनिवार राजधानीका विभिन्न हल पुगेर फिल्मका कलाकारले दर्शकसँग साक्षात्कार गरे । सँगै बसेर फिल्म हेरे भने भ्याएसम्म दर्शकसँग सेल्फी पनि खिचे ।

नवल नेपाल निर्देशित तथा छविराज ओझा निर्मित उक्त फिल्ममा पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, पृथ्वीराज प्रसाइ, नीर शाह, मिथिला शर्मा लगायतका कलाकारहरुको पनि अभिनय छ ।
मल्टिप्लेक्स लक्षित फिल्म ‘गाजा बाजा’ ले पनि आशातित ओपनिङ गरेको छ । शुक्रबार र शनिवार यो फिल्मलाई अधिकांश दर्शकले मन पराएका छन् । युवा वर्गका दर्शकले धेरैपछि फरक स्वादको फिल्म हेर्न पाएको प्रतिक्रिया दिएका छन् । गाँजा खान तड्पिएका दुई युवाको कथा फिल्मले बोल्छ ।
प्रेस शो मा समिक्षकबाट पाएको प्रतिक्रिया अनि शुक्रवार पहिलो शो का दर्शकबाट मिलेको उच्च वर्ड अफ माउथले फिल्मको विजनेसमा ठुलो प्रभाव पारेको छ । निर्देशक गणेश देव पाण्डे आइतवारबाट दर्शकको चाप सिनेमा घरमा बढ्नेमा विश्वस्त रहेको बताउँछन् । 'फिल्म हेरेका दर्शकले नराम्रो बोलेका छैनन् । हाम्रो लागि यही ठूलो सफलता हो ।', उनले भने ।
फिल्ममा सुशील सिटौला, अनुपम शर्मा, वर्षा सिवाकोटी, रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बालगायतको अभिनय रहेको छ ।
उता यम थापा निर्देशित फिल्म ‘हुर्रे’ को पनि वर्ड अफ माउथ राम्रो छ । स्टारकास्टले भरिपुर्ण फिल्म हेर्न शुक्रवारभन्दा शनिवार दर्शकको चाप बढेको पाईएको छ । ‘हुर्रे’ ले जति हल पाएको छ शनिवार ती लगभग हाउसफूल रहे । हलसम्म पुगेका दर्शकले फिल्मलाई राम्रो बोलेका छन् ।
स्टारकास्ट नै हुँदा पनि सिंगल स्कृनमा फिल्मको विजनेस 'वाउ' भन्ने किसिमको भने देखिएको छैन् । अनुपविक्रम शाही, विजय बराल, केकी अधिकारी, राजाराम पौडेल, अंकित खडका लगायतका कलाकारहरु फिल्ममा लिड रोलमा छन् ।

