बाघ निर्माताको रुपमा चिनिने छविराज ओझा निर्मित २३ औँ फिल्म ‘मंगलम’ फागुन २५ गतेबाट देशैभर प्रदर्शनको तयारीमा छ । निर्माता ओझा ‘मंगलम’ निर्माण गर्दा आफूले पहिलो पटक चुनौती महशुस गरेको बताउँछन् ।
उनी भन्छन्, ‘२२ वटा फिल्म लगभग एक्सन प्रधान थिए । तर, ‘मंगलम’ विशुद्ध पारिवारिक फिल्म बनेको छ ।’ ‘लज्जा’ बाट नेपाली रजतपटमा भित्रिइएकी अभिनेत्री शिल्पा पोखरेल फिल्मकी प्रमुख पात्र हुन् । अभिनेता द्वय पुष्प खड्का र पृथ्वीराज प्रसाइँ पनि प्रमुख भूमिकामा छन् ।
.jpg)
यतिमात्र होइन, ‘मंगलम’ मा युवा पुस्तामाझ सर्वाधिक रुचाइएकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको पनि अतिथी भूमिका छ । ट्रेलर र पोष्टरमा निर्माण टिमले दर्शकको ध्यान तान्न उनलाई पनि स्थान दिन छुटाएको छैन । यसकारण फिल्मप्रति दर्शकको चासो झन् बढेको छ ।
साम्राज्ञीको क्रेज मल्टिप्लेक्स अडियन्समा गज्जब छ । यसकारण उनको थोरै सीन भए पनि फिल्मले मल्टिप्लेक्स थिएटरमा दर्शकको साथ राम्रो पाउने धेरैले अनुमान लगाएका छन् । यसअघि 'छविराज ब्यानर' मा निर्मित फिल्म सिंगल हल लक्षित हुने गर्दथे ।
‘मंगलम’ को पब्लिसिटीमा अनुहार समेत नदेखाएकी साम्राज्ञीको उपस्थिति फिल्ममा मात्रै भए पनि निर्माण टिम खुसी छ । ट्रेलरमा उनको भूमिका सस्पेन्स राखिएको छ । तर, गेटअप हेर्दा उनी शिक्षिकाको भूमिकामा हुन सक्ने अडकल गरिएको छ ।
नवल नेपाल निर्देशित फिल्म ‘मंगलम’ मा विष्णु घिमिरेको छायांकन, दिपक शर्माको संगीत, गोविन्द फुँयालको कथा रहेको छ । फिल्मको निर्मातामा दिजेन्द्र शाक्य, साकार ओझा र ओम गुरुङ रहेका छन् ।

