गसिपबाट कहिले टाढा रहन नसक्ने निर्माता हुन् छविराज ओझा । कहिले प्रेम त कहिले डिभोर्स, यी उनको जीवनको सहयात्री नै भइसके । अभिनेत्री रेखा थापासँग १२ वर्ष लामो बैबाहिक सम्बन्धमा पूर्णविराम लगाएपछि अहिले उनी एक्लो जीवन विताइरहेका छन् ।
तर, यतिबेला ५१ वर्षिय निर्माता ओझा अभिनेत्री शिल्पा पोखरेलसँगको प्रेममा चुर्लुम्म डुबेका छन् । गएको वर्षदेखि चाँडै विवाह गर्ने उद्घोष गरेपनि अहिलेसम्म यो कपलको लगन जुरेको छैन । हुनत, जब निर्माता ओझाले निर्माण गरेको फिल्म प्रदर्शनको पूर्वसन्ध्यामा हुन्छ तब अझ बढी यी दुईको विवाहको खबर चर्चाको केन्द्रमा रहन्छ ।
'लज्जा' रिलिजको समयमा प्रेमको गाइँगुइँ हल्ला चल्यो । 'हवल्दार सुन्तली', 'किस्मत २' र यही फागुन २५ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म 'मंगलम' सम्म आइपुग्दा यो जोडीको विवाहको खबर मिडियाको लाइमलाइटमा रहेको छ । शिल्पा र निर्माता ओझाको प्रेम र विवाहको बहसमा आफ्नो चासो नराख्ने अहिले फिल्म क्षेत्रमा कमै होलान् ।
.jpg)
बरिष्ठ कलाकार तथा निर्देशक नीर शाहले समेत शिल्पा र छविराजको प्रेम र विवाहको खबर मज्जैले सुनेका रहेछन् । बुधवार फिल्म 'मंगलम' को 'पर्ख पर्ख मायालु' बोलको गीतलाई युट्युबमा करोड पटक हेरिएको अवसरमा राजधानीमा एक कार्यक्रम आयोजना गरिएको थियो । जहाँ नीरसँगै शिल्पा पोखरेल, छविराज ओझा, अभिनेता द्वय पृथ्वीराज प्रसाईँ, पुष्प खड्का, निर्देशक नवल नेपाल लगायत उपस्थित थिए ।
कार्यक्रममा बोल्ने क्रममा नीर शाहले शिल्पाको तारिफ गर्दै उनलाई आधा छविराज ओझा भइसकेको बताए । उनले भने, 'उहाँलाई छविराज जीको संगतले फिल्मप्रति कत्तिको चलचित्रात्मक हुनुपर्छ भन्ने व्यक्तिको रुपमा रुपान्तरित गरिसकेको छ । शिल्पा जी आधा छविराज ओझा भइसक्नुभएको छ । अब पूर्ण छविराज ओझा जी कहिले हुनुहुन्छ त्यसको प्रतिक्षामा हामी छौं ।'
उनले यति भनेपछि कार्यक्रम हल हाँसो र तालीले गुञ्जियो । शिल्पा र छविराजको विवाहको प्रशंगलाई उनले कोट्याउन खोजेका थिए । उनी भन्न खोज्दै थिए चाँडै दुलहा-दुलही भएको सुन्न पाइयोस् । नीर फिल्म 'मंगलम' का प्रमुख कलाकार हुन् ।

