‘रुपै मोहनी र ‘पिरतीको बर्को’ बोलको गीतसँगै कमेडी ट्रेलरका कारण चर्चामा रहेको प्रतिक्षीत फिल्म ‘शत्रु गते’ ले मोफसल प्रचार यात्रा सुरु गरेको छ । मोफसलका दर्शक तथा सञ्चारकर्मीसँग भेटघाट गर्ने उद्देश्यले फिल्मको मोफसल टुर आरम्भ गरिएको हो ।
टुरलाई रुस्लान भोड्काले सहयोग गरेको छ । ‘रुस्लान मह शत्रु गते यात्रा २०७४’ नाम दिइएको यस यात्रामा कलाकार हरिवंश आचार्य, किरण केसी, शिवहरी पौडेल, पल शाह, आँचल शर्मा र जुनु रिजाल काफ्ले रहेका छन् ।

टुरमा स्थानीय दर्शकलाई विभिन्न प्रस्तुति समेत पस्किने छन् । टुर २३ गते देखि ३० गतेसम्म चल्नेछ । टुर २३ गते हेटौंडा, २४ गते नारायणगढ, २५ गते बुटवल, २६ गते पोखरा, २८ गते बिर्तामोड, २९ गते दमक र ३० गते इटहरीमा हुनेछ ।
चैत ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यस फिल्मलाई मह सञ्चारको ब्यानरमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ ।
पटकथालाई निर्देशक प्रदीप भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसँग मिलेर तयार गरेका हुन् ।
यसमा छायांकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् ।
फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, राजाराम पौडेल, मदनकृष्ण श्रेष्ठ, बसुन्धरा भुषाल, रमेश रञ्जनलगायतका कलाकारको पनि प्रमुख भूमिका छ । मल्टिस्टार कलाकार भएका कारण यो फिल्म हिट हुने अड्कल काटिएको छ ।

