युवा स्टार प्रदीप खड्का अभिनीत फिल्म ‘लिलिबिली’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । मंगलवार काठमाण्डौमा पत्रकारहरुलाई देखाएपछि यो फिल्मको ट्रेलर युट्युबबाट सार्वजनिक गरिएको हो ।

२ गीत सार्वजनिक भएसँगै एकाएक चर्चामा आएको यो फिल्मको ट्रेलर धेरैका लागि प्रतिक्षामा थियो । फिल्मको लोकेशन, छायांकन गजबको छ । हजारौ यूवतीको ढुकढुकी बनेका प्रदीपको यो फिल्मको ट्रेलरले उचाई पाउनेमा निर्माणपक्ष ढुक्क छ ।
निर्माण युनिटले रोमान्स, प्रेम, विछोड र एक्सनका दृश्यहरु समेटेर फिल्मको ट्रेलर ल्याएको हो । प्रदीप र नव-नायिका जसिता गुरुङको प्रेममा अभिनेता अनुप विक्रम शाही भिलेन बनेका छन् ।
ट्रेलरमा अभिनेता सविन श्रेष्ठ र अभिनेत्री प्रियंका कार्कीलाई सस्पेन्स शैलीमा प्रस्तुत गरिएको छ । प्रदीपले बोलेका केही संवाद मन छुने खालका छन् ।
प्रेमकथामा आधारित एउटा पूर्ण फिल्म हेर्न चाहने दर्शकका लागि निर्देशक मिलन चाम्सले गतिलो प्याकेज लिएर आएको ट्रेलर हेर्दा महशुश गर्न सकिन्छ ।
कार्यक्रममा प्रदीपले ट्रेलरमा फिल्मको कथा खुलाउन नचाहेको बताए । उनी भन्छन्, ‘मैले मेरो तर्फबाट राम्रो काम दिने प्रयास गरेको छु । राम्रो कथा छ । राम्रो टिम छ । फिल्म पनि राम्रो बनेको छ भन्नेमा ढुक्क छु ।’
प्रदीपको अपोजिटमा देखिएकी जसिता फिल्मप्रति बढी विश्वस्त देखिइन् । भनिन्, ‘हामीले मिहिनेतसाथ काम गरेका छौं । दर्शकले मन पराउनेमा म त ढुक्क छु ।’
चैत ३० गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको फिल्ममा मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेस चाम्स लगायतका कलाकारहरु पनि अभिनय छ ।
‘लिलिबिली’ स्कटल्याण्डसँगै नेपाल, लन्डन र टर्कीको स्थानबुलमा छायांकन गरिएको हो । युथ जेनेरेसन लभस्टोरी भनिएको फिल्म रेगुलर लभस्टोरी जस्तो पनि नभएको निर्देशक चाम्स बताउँछन् ।
ट्रेलर हेर्नुहोस् :-
काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘लिलिबिली’ मा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ । सुदिप बरालले फिल्म खिचेका हुन् ।

