बलिउडका चर्चित निर्माता तथा निर्देशक सुभाष घई बैशाखमा नेपाल आउने भएका छन् । उनले निर्माण गरेको फिल्म ‘सौदागर’ बाट सन् १९९१ मा नेपाली चेली मनिषा कोइरालाले बलिउडमा डेब्यू गरेकी थिइन् ।
.jpg)
हाल भारतमा रहेको कान्तिपुर फिल्म एकेडेमीको टोलीसँगको भेटमा घईले आफू नेपाल आउने वचनबद्धता व्यक्त गरेका हुन् । एकेडेमीका सिइओ प्रकाश पुरीले भने, ‘उहाँको सहयोगीले कुन मितिमा आउने भन्ने समय तोकेपछि नेपाल आउनुहुनेछ ।’
टोलीमा एकेडेमीका एकेडेमिक निर्देशक नरेशकुमार केसीसहित चारजना छन् । टोलीले सोमबार मुम्बईको प्रख्यात फिल्म स्कुल विस्लिङ उड इन्टरनेशनलको भ्रमण गर्दै त्यहाँका प्रमुखसमेत रहेका निर्देशक घई, अध्यक्ष मेघना घई पुरी र हेड अफ एकेडेमिक राहुल पुरीसँग भेट गरेको थियो ।
भेटमा दुई पक्षबीच विद्यार्थी आदानप्रदान, फ्याकल्टी आदानप्रदान, फिल्म निर्माण सहकार्य, नेपालमा कार्यशालाको आयोजना गर्ने, वार्षिक रुपमा छात्रवृत्ति प्रदान गर्ने र घई नेपाल आउने बुँदामा सहमति भएको छ ।
.jpg)
सुभाष 'हिरो', 'मेरी जंग', 'कर्मा', 'राम लखन', 'खलनायक', 'परदेश' जस्ता फिल्मका निर्देशक हुन् । 'तक्कारी' र 'अराधना' फिल्ममा उनले छोटो भूमिका समेत निर्वाहा गरेका छन् ।
वर्ष २००६ मा उनलाई सामाजिक फिल्म 'इकबाल' का लागि राष्ट्रीय सम्मानबाट पुरस्कृत गरिएको थियो । घईले 'ऐतराज', 'इक़बाल', 'चाइना टाउन', 'अपना अपना मनी मनी' जस्ता सुपरहिट फिल्मको निर्माण पनि गरेका छन् ।

