प्राचीनकालदेखि नै चलिआएको सुदुरपश्चिम र मध्यपश्चिमका पहाडी भेगहरुमा अझै पनि ज्वलन्त रहेको प्रायः हिन्दु धर्मका धेरै समुदायहरूमा छाउपडी प्रथा मान्ने गरिन्छ तर तिनका सीमाहरूमा भने ब्यापक विभिन्नता पाइन्छ । रजश्वला तथा सुत्केरी भएका बेला छाइछुइ गर्न नहुने, यसो गरे देवता रिसाउने र पाप लाग्ने आदि धार्मिक अन्धविश्वास रहँदै आएको छ ।
धार्मिक भाषामा महिनावारीलाई मासिक धर्म भनिन्छ । सुदूरपश्चिमका अछाम, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुरा र मध्यपश्चिमका कर्णाली अञ्चल लगायत मुलुकका दुई दर्जन भन्दा बढि ग्रामीण जिल्लाहरुमा यो प्रथा अझै कायमै छ ।
यही विषयमा निर्माण भएको फिल्म 'पञ्चायत' चैत २ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । ५० बर्ष अगाडिको सामाजिक संरचना र त्यो समयका किशोरीहरुको यौन मनोविज्ञानलाई समाजले हेर्ने दृष्टिकोण र छाउपडी प्रथामा बस्ने किशोरीको पीडालाई फिल्ममा देखाइएको छ । अभिनेता सरोज खनाल र अभिनेत्री नीता ढुंगाना प्रमुख भूमिकामा छन् ।

फिल्ममा १४ वर्षे किशोरी बन्नका लागि २५ वर्षे नीताले निकै मिहिनेत गरेको बताउँछिन् । फिल्मीखबरसँगको एक भेटमा उनले फिल्ममा निर्वाहा गरे जस्तै छाउपडी बस्दाको दुःख सम्झिइन् । उनी भन्छिन्, 'छाउपडी बस्नु भनेको छोरीहरुका लागि निकै दर्दनाक क्षण हो । १२ वर्षको हुँदा मेरो पहिलो रजश्वला भयो । मलाई पनि त्यसरी नै लुकाइएको थियो । अरुको घरको एक अँध्यारो बन्द कोठाभित्र ।'
उनले भनिन्, 'त्यसबेला निकै दुःख भोगेकी छु । दलितलाई गरेको जस्तै व्यबहार त्यसबेला ममाथी पनि भयो । शारीरिक रुपमा गाह्रो हुन्थ्यो । पेट दुख्थ्यो । परिवारलाई धेरै मिस गरिन्थ्यो । परिवारले सपोट गरिदिए पनि हुन्थ्यो जस्तो लाग्थ्यो । तर, त्यसबेला केही पनि हुँदैन थियो । आमाले समेत छुनु हुन्न थियो । त्यो दिन सम्झिँदा अहिले पनि भक्कानिएर रुन मन लाग्छ । १४ दिन बन्द कोठामा बस्दा म धेरै पटक रोएकी थिएँ ।'
उनले फिल्म 'पञ्चायत' मा छाडपडी बस्दाको एक युवतीको दर्दनाक कथा प्रस्तुत गरिएको बताइन् । उनी भन्छिन्, '७ वर्ष अगाडि नै मकहाँ यो फिल्मको स्क्रिप्ट आएको थियो । त्यतिबेला मैले त्यो भूमिकामा फिट हुँदिन भनेर रिजेक्ट गरेँ । फेरि निर्देशक शिवम् अधिकारीले मलाई १४ वर्षे युवतीको भूमिका निर्वाहा गर्न सक्छौं भनेर आत्मविश्वास दिलाउनुभयो । राम्रो स्क्रिप्ट भएका कारण मलाई फिल्म छोड्न मन थिएन । अनि, 'पञ्चायत' गरेँ ।'
यस्तै, अभिनेता सरोज खनाल फिल्मको हिरो र हिरोइन दुवै नीता रहेको बताउँछन् । उनी भन्छन्, 'फिल्ममा मैले प्रधानपञ्चको भूमिका निर्वाहा गरेको छु । फिल्मको नाम 'पञ्चायत' भए पनि पञ्चायती व्यवस्थाको गुन गाएका छैनौं । अवगुण पनि देखाएका छैनौं । मात्र हामीले त्यतिबेलाको न्याय व्यवस्थालाई देखाउने कोशिश गरेका छौं ।'
सञ्चारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्मलाई गणेश गिरीको प्रस्तुतीमा सुशान्त श्रेष्ठ र शंकर सुवेदीले निर्माण गरेका हुन् । टंक बुढाथोकीको संगीत र रामेश्वर कार्कीको छायांकन रहेको फिल्मलाई विपिन मल्लले सम्पादन गरेका हुन् ।
यसअघि अमेरिकाको क्यालिफोर्निया राज्यको सन् फ्रान्सिस्को शहरमा आयोजित ‘सन् फ्रान्सिस्को चलचित्र महोत्सव’मा ‘पञ्चायत’ले बिदेशी भाषाको ‘उत्कृष्ट चलचित्र’ विधामा र ‘उत्कृष्ट मुख्य अभिनेत्री’ विधामा पुरस्कार जित्न सफल भएको थियो ।
यो फिल्ममा सरोज र नीताका अलवा रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतको अभिनय रहेको छ । फिल्मका लेखक र निर्देशक शिवम् अधिकारी हुन् ।

