सोमबार दिउँसो करिब ३ बजे युट्युबमा आएको यस वर्षको बहुप्रतिक्षीत फिल्म ‘शत्रु गते’ ट्रेलर सार्वजनिक भएको १९ घण्टामा ३ लाख ७५ हजारभन्दा बढी पटक भिजिट भएको छ । सँगै, युट्युबको नेपाल ट्रेन्डिङ नम्वर एकमा पनि पर्न सफल भएको छ ।
.jpg)
यही गतिमा भिजिट हुने हो भने ‘शत्रु गते’ ट्रेलरले अहिलेसम्म युट्युबमा नेपाली फिल्मको ट्रेलरले बनाएको रेकर्ड तोड्ने पक्का छ । फिल्म ‘कृ’ को ट्रेलरले रिलिजको २४ घण्टामा ६ लाखभन्दा बढी भ्यू पाएको रेकर्ड छ । यो रेकर्ड तोड्न ‘शत्रु गते’ ट्रेलरमाथी २४ घण्टामा साढे ६ लाख दर्शकको नजर पर्नु पर्नेछ ।
सुटिङको समयदेखि चर्चामा रहेको ‘शत्रु गते’ को सुरुवाती चर्चा र ट्रेलर प्रति नै देखिएको क्रेजले रिलिजपछि बिजनेश कस्तो गर्ला भन्ने कौतुहलता उब्जेको छ । चैत ९ गते रिलिज फिल्म हिट बन्ने छाँट ट्रेलरको भिजिटरले देखाएकोमा दुई मत छैन ।
ट्रेलरप्रति सयौं कमेन्ट सकारात्मक आएका छन् । ट्रेलरलाई युट्युबमा १२ हजार बढिले लाइक गरेका छन् । सामाजिक सञ्जालमा यो ट्रेलरसँग जोडिएर बाहिरिएका संवाद र दृश्यको ट्रोल तथा जोक बन्न सुरु भएको छ । जसको प्रत्यक्ष प्रभाव फिल्मको प्रचारमा पर्नेछ ।
प्रदीप भट्टराई निर्देशित फिल्मले अहिलेसम्मकै सर्वाधिक ओपनिङ कलेक्सनमा रेकर्ड राख्ने अनुमान फिल्म पण्डितहरुको छ । फिल्मको यसअघि रिलिज भएको 'रुपै मोहनी' बोलको गीतलाई पनि युट्युबमा करोडभन्दा बढी पटक हेरिएको छ ।
ट्रेलर हेर्नुहोस् :-
‘शत्रु गते’ मा पल शाह, आँचल शर्मा, प्रियंका कार्की, दीपकराज गिरी, हरिवंश आचार्य, दीपाश्री निरौला, मदनकृष्ण श्रेष्ठ, राजाराम पौडेल, शिवहरी पौडेल, किरण केसी, बसुन्धरा भुषाल, सुष्मा कार्की, रमेश रञ्जन झा लगायतका कलाकारको प्रमुख भूमिका छ ।
तराई र काठमाण्डौमा छायांकन गरिएको यो फिल्म मह सञ्चारको प्रस्तुती र किरण केसीको निर्माणमा बनेको हो । फिल्ममा हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद छ ।

