बलिउडका 'दंबग ब्वाई' सलमान खानको नेपाल आउने कार्यक्रम स्थगित भएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले धम्की दिएपछि सुरक्षाको कारण देखाउँदै आयोजक ओडिसी इन्टरटेन्मेन्टले फागुन २६ गते हुन लागेको 'द ब्याङ्ग टुर' कार्यक्रम तत्काललाई स्थगित गरेको हो ।
आयोजक ओडिसी इन्टरटेन्मेन्टका प्रमुख सीमान्त गुरुङले तत्कालका लागि सुरक्षाका कारण सलमान नेपाल आउन नसक्ने जानकारी दिएका छन् । उनका अनुसार, अबको चारदेखि पाँच हप्ताको बीचमा फेरि कार्यक्रम आयोजना गरिनेछ ।

कार्यक्रम हुने निश्चित भएको भन्दै केही हप्ता अगाडि सलमानका भार्इ तथा आयोजक समेत रहेका सोहेल खानले काठमाडौंमा पत्रकार सम्मेलन समेत आयोजना गरेका थिए ।
कार्यक्रममा सलमानसँगै नायिका सोनाक्षी सिंहा, कृति सेनन, कोरियोग्राफर तथा चर्चित अभिनेता प्रभु देवा, डेजी शाह, मिट ब्रदर, मनिष पावलको प्रस्तुति रहने बताइएको थियो ।
सलमानले आफू नेपाल आउन लागेको जानकारी आफ्नो आधिकारिक फेसबुक र ट्विटरबाट समेत दिएका थिए । खबरअनुसार, उनले नेपाल आउने कार्यक्रम स्थगित भएको जानकारी साँझसम्ममा सामाजिक सञ्जालमार्फत दिँदैछन् ।
सलमानले 'द ब्याङ्ग टुर' नेपालका लागि भनेर अग्रिम ५ करोड रुपैयाँ बुझिसकेका छन् भने, आयोजक संस्थाले करीब ५ हजारभन्दा बढी टिकट विक्री गरिसकेको छ ।

