शंकै छैन, नेपालकी 'नम्वर वान' नायिका रेखा थापाको स्टारडम अब ओरालो लागेको छ । लगालग 'तथास्तु', 'पलाँस', 'डायरी', 'रुद्रप्रिया' फिल्म बक्स अफिसमा असफल हुँदा वर्षौदेखि आफ्नो पोल्टामा रहेको 'नम्वर वान' नायिकाको ट्याग अब उनको काबुमा रहेन ।
.jpg)
फिल्मको पर्दामा हिरो अवतारमा प्रस्तुत हुँदा ताली र सिठ्ठी खाँदै झन्डै एक दशक नेपाली फिल्ममा एकछत्र राज गरेकी उनी अब आफ्नो मुठीबाट उम्किँदै गएको स्टारडम जोगाउने धाउन्नमा छिन् । विस्तारै आफ्नो स्टारडम कमजोर बन्दै गएपछि उनी राजनीतिमा होमिएको बहसले पनि सिनेवृत तात्न छाडेको छैन ।
तर, जसरी पछिल्लो पटक उनका फिल्म बक्स अफिसमा कमजोर साबित भइरहेका छन् त्यसरी नै राजनीतिमा पनि उनले खासै ठूलो फड्को मार्न सकेकी छैनन् । पार्टी परित्याग गर्दागर्दै उनी थाकिसकेकी छिन् ।
पछिल्लो पटक निकै ठूलो आश गरिएको फिल्म 'रुद्रप्रिया' असफल भएपछि अहिले रेखा पर्दामा फर्किन हतार गरिरहेकी छैनन् । अब अर्को वर्षको तिहारमा उनी ‘लाल मस्तिष्क’ लिएर दर्शकमाझ आउने भएकी छिन् । मंगलवार उनले यो फिल्मको औपचारिक जानकारी मिडियालाई दिइन् । फिल्मलाई महिला निर्देशक सम्झना रौनियारले निर्देशन गर्नेछिन् ।
जेष्ठबाट छायांकन सुरु हुने फिल्ममा रेखा आफैं प्रमुख भूमिकामा देखिँदैछिन् । नायकको नाम भने गोप्य राखिएको छ । फिल्मले जिवन र यात्राको कथा भन्नेछ ।
फिल्म घोषणा गर्दै र थन्काउँदै
अभिनेत्री रेखा थापाले वर्ष २०७३/७४ मा केही फिल्ममा काम गर्ने निधो गरेकी थिइन् । जुन फिल्मको टाइटल समेत घोषणा गरियो । वर्ष २०७५ को दशैंमा रिलिज गर्ने गरि उनले फिल्म 'रत्ना' को घोषणा गरिन् । जसलाई निर्देशक सबिर श्रेष्ठले निर्देशन गर्ने कन्फर्म भएको थियो । तर, अब यो फिल्म बोलीमा मात्र सिमित हुने देखिएको छ ।
वर्ष २०७३ को कार्तिकमा उनले ‘कसले चोर्यो मेरो मन फेरि’ नामक फिल्मको घोषणा गरेकी थिइन् । यो फिल्म ‘कसले चोर्यो मेरो मन’ को सिक्वेल हुने बताइएको थियो । सबिर श्रेष्ठ नै निर्देशनमा फाइनल भएका थिए । तर, अब यो फिल्म पनि बन्छ वा बन्दैन भन्नेमै शंका उब्जिन थालेको छ ।
.jpg)
यस्तै, अर्को फिल्म हो ‘कसो कसो माया बस्यो’ । यो फिल्म रेखाको ब्यानरमा नबन्ने भएपनि उनको प्रमुख भूमिका हुने पक्का थियो । फिल्ममा आर्यन अधिकारी उनको अपोजिटमा देखिँदै थिए । तर, अन्तिममा यो फिल्मबाट रेखा बाहिरिइन् र अभिनेत्री सृष्टि श्रेष्ठ भित्रिइन् । फिल्मको नाम अहिले 'बाँध मायाले' राखिएको छ ।
कतै ‘लाल मस्तिष्क’ पनि घोेषणामै सिमित हुने पो हो कि ? आशा गरौँ- दर्शकले वर्ष २०७५ को तिहारमा रेखाको यो फिल्म हलमा हेर्न पाउनेछन् ।

