Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

किन हेर्ने ‘पञ्चेबाजा’ ?

मनिष अन्जान, काठमाण्डौ, 2018/02/27
अब हामीबाट कहिले नफर्किने गरि वर्ष २०७४ दूर हुँदैछ । वर्ष २०७५ ले पाइला टेक्न अब लगभग डेढ महिना बाँकी छ । यो वर्ष नेपाली फिल्म क्षेत्रका लागि सुखद नै रह्यो । सयको आसपासमा प्रदर्शन भएका फिल्म मध्ये यस वर्ष आधा दर्जन बढी फिल्मले व्यवसायिक सफलता हात पारे । कति फिल्मले निर्मातालाई विल्लीबाठ समेत बनाएको छ । 
 
मन्द गतिमा अगाडि बढिरहेको नेपाली फिल्मको बजारलाई ‘ए मेरो हजुर २’, ‘म यस्तो गीत गाउँछु’, ‘प्रेमगीत २’, ‘छक्का पञ्जा २’, ‘कृ’, ‘मिस्टर झोले’ लगायतका फिल्मले वर्ष २०७४ मा ठूलो सास भरे । अझै, प्रतिक्षीत भनिएका ‘शत्रु गते’, ‘लिलिबिली’ लगायतका फिल्म यसै वर्ष प्रदर्शनको तरखरमा छन् । 
 
वर्ष २०७४ को अन्तिम घडिसम्म आइपुग्दा व्यवसायिक सफलता हात पारेका फिल्मले पनि दर्शक रिझाउन भने असफल भएको गुनासो चौतर्फी आइरह्यो । कथाभित्रको कथा अर्थात्, पटकथालाई नै  अधिकांश दर्शकहरु नेपाली फिल्मको सबैभन्दा कमजोर पक्ष मान्दछन् । 
 
कलाकार, निर्देशकलगायतलाई लाखौं तिर्न तयार हुने निर्माताहरु किन कथा छनौटमा कन्जुसाईँ गर्छन् ? दर्शकको गुनासो र प्रश्न वर्षौदेखि यही छ । 
 
तर, ‘कहिले काहीँ नपत्याउने खोलाले पनि बगाउँछ’ भने झैँ यस वर्ष एक फिल्मले सबैलाई आश्चर्यमा पारेको छ । फिल्म हो ‘पञ्चेबाजा’ । लगातार पर्दामा आइरहेका अभिनेता सौगात मल्लको यो फिल्मले दर्शकबाट यतिबेला राम्रो ‘रेस्पोन्स’ पाइरहेको छ । सिनेमा हलमा दर्शकको ठेलमठेल उपस्थिति नभए पनि फिल्म हेरेका दर्शकले ‘झुर’ बोलेका छैनन् । 
 
प्रायः ‘लाउड’ क्यारेक्टरमा प्रस्तुत हुँदै आइहेका सौगातको ‘पञ्चेबाजा’ कथावस्तु र प्रस्तुतीका कारण यस वर्षको उत्कृष्ट फिल्म हो भन्दा सायद गलत नहोला । अभिनयको दृष्टिकोणले होस् वा भूमिका विल्कुलै फरक भएका कारण नै किन नहोस्, उनको यो फिल्म हेर्न लायकको बनेको छ । कथावस्तु नयाँ छैन तर प्रस्तुती रोचक छ । 
 
 
समाजमा घट्ने घटनालाई फिल्ममा जस्ताको त्यस्तै उतारिएको छ । साथीको राम्री श्रीमतीमाथी कुदृष्टी लगाउँदा उत्पन्न हुने द्वन्द्वको वरिपरि फिल्म रुमलिएको छ । निर्देशक घनश्याम लामिछानेले तारिफ योग्य काम गरेका छन् । उनले कुनै पनि पात्रलाई जर्बजस्ती बाँधेर राखेका छैनन् । 
 
कलाकारहरु स्वतन्त्र हुनुले पनि दर्शकहरु १ घण्टा ५७ मिनेट मज्जैले ‘होल्ड’ हुन सक्छन् । पहिलो पटक पर्दामा थिएटर आर्टिस्टको भूमिका निर्वाहा गरेका सौगात (भूपी) काठमाडौंमा मञ्चन भएको एक नाटकबाट विजयी घोषित भएर आफ्नो बच्चैदेखिको साथी कर्मा (रुद्र) को विवाहका लागि गाउँ लाग्छन् । 
 
रुद्रकी दुलही अर्थात्, रुपा उर्फ जस्मिन श्रेष्ठलाई जब भूपीले पहिलो पटक दुलही पहिरनमा विवाह मण्डपमा देख्छन् तब उनको एकोहोरो प्रेम सुरु हुन थाल्छ । त्यसपछि रुपालाई आफ्नो बनाउन उनले योजनाबद्ध रुपमा गर्ने एकपछि अर्को दुर्घटनाहरु रमाइला छन् ।  
 
रुद्रको काकाको दुर्घटना गर्न लगाएर भूपीले रुपासँग नजिक हुने एउटा गतिलो बाटो खन्छन् । उता, विवाहपछि ऋणमा चुर्लुम्मै डुबेका कर्मा काठमाडौंमा पैसाको लोभमा गाडी दुर्घटनाको सबै जस आफ्नो थाप्लोमा बोक्दछन् । यसपछि फिल्ममा विभिन्न मोडहरु आउँछन्, जुन हेर्न भने एक पटक हलसम्म जानै पर्ने हुन्छ । 
 
सौगात र कर्मासँगै सहायक कलाकारहरु सिर्जना सुब्बा, प्रकाश घिमिरे, विमला गिरी लगायतका कलाकाहरुको अभिनय राम्रो छ । अभिनेत्री जस्मिन श्रेष्ठको अभिनय भने आधा—अधुरो लाग्छ । कर्मा सोझो गाउँले युवकको भूमिकामा फिट छन् । 
 
सौगात पुरानै ठर्राको अभिनयबाट बाहिर निस्कन सफल भएका छन् । उनको सशक्त अभिनय नै फिल्मको मुटु हो । साइँलो उर्फ वुद्धि तामाङ फिल्मका अर्का महत्वपूर्ण खम्बा हुन् । उनको उपस्थिति दर्शकका लागि हाँसोको खुराक बन्छ । 
 
निर्माता राजेश शाहीले फिल्ममा लगानी गर्न कञ्जुस गरेका छैनन् । फिल्मका कथाकार प्रदीप भारद्वाजको काम प्रशंसनिय छ । ‘कृ’ बाट चर्को आलोचना खेपेका उनलाई ‘पञ्चेबाजा’ ले धेरै ठूलो सास दिएको छ । छायाँकार हरि घले लामाको सिनेम्याटोग्राफी तारिफ योग्य छ । गाउँको सुन्दरतालाई आफ्नो क्यामेरामार्फत कलात्मक रुपमा पस्कन उनी सफल छन् । फिल्ममा कुनै पनि संवाद र दृश्य जर्बजस्ती राखिएको छैन । 
 
गाउँको दुख र पात्रहरुको तनाबलाई रोचक तरिकाले प्रस्तुत गरिएको छ । फिल्म हेरिरहँदा दर्शक कन्फ्युज हुन्नन् । प्रत्येक दृश्यको अर्थ खुलाइएको छ । यही नै फिल्मको सबैभन्दा ठूलो सफलता हो । फिल्ममा केही कमी कमजोरी भने अवश्य छन् । 
 
रुद्रले विदेशमा छु भने श्रीमतीलाई नेपाली नम्बरमा जेलबाटै फोन गर्नु, पाखुरामा गहिरो चोट लागेका भूपी हस्पिटलबाट सजिलै बुलेट बाइक हाकेर होटल पुग्नु लगायतका केही दृश्यहरु हास्यास्पद छन् । 
 
यस्तै, पैसाका लागि अरुले गरेको उपराधको सजाय भोगेका रुद्रले जेलबाट निस्कँदै गर्दा कति रकम पाए त्यो काहीँ कतै खुलाइएको छैन । 
 
नाटकबाट सुरु भएको फिल्म दर्शकलाई सस्पेन्स बनाउँदै नाटककै शैलीमा अन्त्य हुन्छ । क्लाईमेक्स सिनमा दर्शक केही कन्फ्युज हुन्छन् तर त्यो रुद्रले स्पष्ट पार्न चुकेका छैनन् । फिल्मका गीतसंगीत उपयूक्त समयमा राखिएको छ । नेपालीपन बोकेको र राम्रो नेपाली फिल्म हेर्ने सोच बनाएका दर्शकका लागि ‘पञ्चेबाजा’ सही निर्णय हुन सक्छ । 
Most Visited News (monthly)