केही दिन अगाडि निर्देशक अशोक शर्माले ‘जय भोले’ टाइटलको घोषणा गरे । यसैबीच, उस्तै अर्थ बोक्ने फिल्म ‘जय शम्भु’ को औपचारिक निर्माण घोषणा गरिएको छ । रुपेश तामाङले निर्देशन गर्न लागेको यो फिल्मको आइतवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण घोषणा गरियो ।
फिल्ममा पछिल्लो समय सर्वाधिक रुचाइएका दुई ह्यान्डसम भिलेन प्रमुख भूमिकामा छन् । 'कृ' भिलेन अनुप विक्रम शाही र 'ऐश्वर्य' भिलेन प्रशान्त ताम्राकार फिल्मका प्रमुख कलाकार हुन् । यस्तै, वर्षा सिवाकोटी, रोशन महर्जन, करुणा पाण्डे, अनुपम श्रेष्ठ, बसन्त भट्ट, कालु राना लगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय रहने छ ।
सोमवारबाट छायांकन सुरु हुन लागेको फिल्मका प्रस्तुतकर्ता दिनेश शाही हुन् भने, कार्यकारी निर्मातामा राजकुमार नगरकोटी र चक्र पाख्रिन रहेका छन् । यस्तै, अरविन्द्र शाक्य फिल्मका निर्मातामा छन् । काठमाडौं र अन्नपूर्ण बेशक्याम्पमा छायांकन हुने फिल्मलाई हरि घले लामाले खिच्ने छन् ।
‘जय शम्भु’ को निर्माण घोषणा सभामा बोल्दै अभिनेता अनुप विक्रम शाहीले फिल्मको कथावस्तु र आफ्नो भूमिका दमदार लागेका कारण काम गर्न लागेको बताए ।
प्रशान्तले पनि कथा र भूमिका मन परेका कारण फिल्म साइन गरेको सुनाए । यस्तै, वर्षाले ‘जय शम्भु’ राम्रो बन्नेमा आशावादी रहेको बताइन् ।
फिल्ममा प्रदीप र अर्जुन पोखरेलको संगीत, रुपेश तामाङ र प्रदीपको शब्द, प्रमोद खरेल, मिना निरौला, अञ्जु पन्त र सुगम पोखरेलको स्वर, रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व, प्रविण ढकालको सम्पादन रहने छ ।
‘जय शम्भु’ लाई वर्ष २०७५ को साउन १ गते प्रदर्शनमा ल्याउने निर्माण टिमको तयारी छ ।