मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

किन थन्कियो प्रदीपको ‘दीपेन्द्र सरकार’ ?

मनिष अन्जान, काठमाण्डौ, 2018/02/24
घोषणा गरिएका धेरै फिल्म छायांकन समेत नभई थन्किएर बसेका उदारहण नेपालमा प्रशस्तै छन् । मिडियामा दुईदिने चर्चाका लागि पनि केही निर्माताले फिल्मको घोषणा गर्ने गर्छन् । कहिले कलाकारले धोका दिने त कहिले निर्माता–निर्माता बीचको मनमुटाबले पनि घोषणा गरिएका फिल्म निर्माण हुँदैनन् । 
 
रोचक कुरा त के छ भने घोषणा भएर पनि निर्माण हुन नसकेका नेपाली फिल्मको घोषणा सभा भने अधिकांश पाँच तारे होटलमा भएका छन् । यस्तै, एक फिल्म हो ‘दीपेन्द्र सरकार’ । युवा स्टार प्रदीप खड्कालाई लिड रोलमा अनुवन्धित गर्दै निर्माता सन्तोष सेनले काठमाडौंको पाँच तारे होटल याक एण्ड यतिमा फिल्मको घोषणा गरे । 
 
यो फिल्मको निर्माण घोषणा सन्तोष निर्मित तथा प्रदीप अभिनीत फिल्म ‘प्रेमगीत २’ रिलिज छेको अर्थात्, वर्ष २०७४ जेष्ठ दोस्रो सातामा गरिएको थियो । कतिले यसलाई ‘प्रेमगीत २’ को चर्चामा कमी आउन नदिन गरिएको प्रपोकाण्ड पनि भने । तर, निर्माता सेनले फिल्म ‘दीपेन्द्र सरकार’ बनाएरै छाड्ने दाबी गरेका थिए । 
 
पूर्व सैनिक रथी विवेक कुमार शाहद्वारा लिखित दरबारसँग सम्बन्धित पुस्तक ‘मैले देखेको दरबार’ माथि आशुसेन फिल्मसले यो फिल्म निर्माण गर्न लागेको हो । राजा दीपेन्द्र विरविक्रम शाह र उनकी प्रेमिका भनिएकी देवयानी राणाको प्रेमकथामा फिल्म आधारित हुने बताइएको थियो । 
 
 
यतिमात्र होइन निर्माता सेनले फिल्मको प्रदर्शन मिति समेत घोषणा गरेका थिए । वर्ष २०७५ जेष्ठ १९ गते ‘दीपेन्द्र सरकार’ देशव्यापी प्रदर्शनमा आउने औपचारिक जानकारी दिइएको थियो । तर, अहिलेसम्म यो फिल्मको कुनै तयारी अगाडि बढेको छैन । प्राप्त जानकारी अनुसार, ‘दीपेन्द्र सरकार’ लाई थाति राख्दै अहिले निर्माता सेन एक लभस्टोरी फिल्म निर्माण गर्ने तयारीमा जुटेका छन् । 
 
उता, प्रदीप ‘प्रेमगीत २’ बाट स्टार बनिसके । अहिले उनको हातमा फिल्मको कमी छैन । चैत ३० गते उनी अभिनीत नयाँ फिल्म ‘लिलिबिली’ प्रदर्शनमा आउँदैछ । यसपछि लगत्तै उनी सुवास गिरीले निर्माण गर्न लागेको फिल्म ‘भैरवी’ मा व्यस्त हुँदैछन् । 
 
‘दीपेन्द्र सरकार’ का लागि प्रदीपले तौल बढाउनु पर्ने हुन्छ  । यो फिल्मका लागि उनले कम्तीमा पनि १ वर्ष समय छुट्याउनु पर्ने देखिन्छ । बुझिएअनुसार, प्रदीपको तत्काल समय नमिल्ने भएपछि यो फिल्मको काम अगाडि बढ्न नसकेको हो । सिनेवृतमा गाइँगुइँ अर्को पनि चर्चा छ कि निर्माता सेनसँग अहिले उनको खासै राम्रो दोस्ती छैन । सेनले निर्माण गरेको ‘प्रेमगीत’ र ‘प्रेमगीत २’ बाट प्रदीप रातारात चम्किएका हुन् । 
 
निर्माण घोषणाको समयमा जानकारी दिइएको ‘दीपेन्द्र सरकार’ को प्रदर्शन मिति आउन अब करीब २ महिना मात्र बाँकी छ । के फिल्म तयार भइसक्यो ? कहिले आउँछ गीत र ट्रेलर ? कतै दुईदिने हल्लाको लागि मात्र फिल्मको घोषणा गरिएको त थिएन ? निर्माता सेनको सामुन्ने प्रश्न चिन्ह खडा भएको छ ।  
 
नेपाल, बेलायत र अमेरिकामा छायांकन हुने बताइएको फिल्मको लागत ५ करोड माथि हुने बताइएको थियो । महोत्सवका लागि डेढ घण्टा र व्यवसायिक रिलिजका लागि ‘दीपेन्द्र सरकार’ २ घण्टाको बनाइने जानकारी दिइएको थियो । तर, अहिले हेर्दा लाग्छ यो प्रोजेक्ट अलपत्र परेको छ । अब यो फिल्म बन्छ वा बन्दैन भन्नेमै शंका उब्जिन थालेको छ ।