फ्राईडे रिलिज अन्तर्गत यो हप्ता होली स्पेसल भन्दै दुई फिल्म प्रदर्शनमा आएका छन् । फिल्म हुन् ‘पञ्चेबाजा’ र ‘साढे ७’ ।
‘घिन घिन मादल’ बोलको गीतका कारण पनि चर्चामा रहेको ‘पञ्चेबाजा’ ले एक गाउँका तीन पात्रको कथाको कथा बोल्छ । अभिनेत्री जस्मिन श्रेष्ठका लागि अभिनेता द्वय सौगात मल्ल र कर्मा शाक्यको द्वन्द्व फिल्ममा प्रस्तुत गरिएको छ ।
सौगात थिएटर आर्टिस्टको भूमिकामा देखिएका छन् । लगातार आफू अभिनीत फिल्महरु बक्स अफिसमा असफल भइरहँदा उनलाई फिल्म ‘पञ्चेबाजा’ चल्नै पर्ने दबाब छ । घनश्याम लामिछाने निर्देशित फिल्मका निर्माता राजेश शाही हुन् ।
न्यू भेनस फिल्मस्को व्यानरमा निर्माण भएको ‘पञ्चेबाजा’ मा बुद्धि तामाङ, सिर्जना सुब्बा, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, देशभक्त खनाल, युवराज भण्डारी, तेज गिरी, राजेश शाही लगायतका कलाकारहरुको पनि अभिनय छ ।
सारा गुरुङ सह-निर्माता रहेको फिल्ममा कालीप्रसाद बास्कोटा र विकास चौधरीको संगीत, दीर्घ खड्काको सम्पादन, प्रदिप भारद्वाजको लेखन, जेसन कुँवरको पार्श्व ध्वनि, उत्तम न्यौपानेको मिक्सिङ र हरि घले लामाको छायांकन छ ।
यस्तै, २०७२ साल असोजमा नेपालमाथि भारतले गरेको नाकाबन्दीको कथामा निर्माण भएको फिल्म ‘साढे ७’ मा गायक सत्यराज आचार्य लिड रोलमा छन् । सत्य-स्वरुप इन्टरटेन्मेन्ट, मौरी इन्टरटेन्मेन्ट, ब्ल्याक पेपर स्टूडियो र एविसी एन्ड एआरसी फिल्म प्रोडक्शनले संयूक्त रुपमा ‘साढे ७’ निर्माण गरेको हो । फिल्मका निर्देशक साम्तेन भुटिया हुन् ।
फिल्ममा सत्यका अलावा मेनुका प्रधान, कामेश्वर चौरासिया, सुप्रिया कटुवाल, शिशिर बाङ्देल लगायतका कलाकारहरुको प्रमुख भूमिका छ । फिल्ममा सत्यराजले फोटो पत्रकारको भूमिका निर्वाहा गरेका छन् । फिल्ममा सत्य-स्वरुपको संगीत र अनिस तामाङको छायांकन छ ।