Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विना पारिश्रमिक ‘पञ्चायत’ गरेको सरोजको खुलासा

फिल्मीखबर, काठमाण्डौ, 2018/02/19
आउँदो चैत २ गतेबाट अभिनेत्री नीता ढुंगाना र अभिनेता सरोज खनाल अभिनीत फिल्म ‘पञ्चायत’ प्रदर्शनमा आउँदैछ । ट्रेलरबाट तारिफ बटुलिरहेको फिल्मले ५० बर्ष अगाडिको सामाजिक संरचना र त्यो समयका किशोरीहरुको यौन मनोविज्ञानलाई समाजले हेर्ने दृष्टिकोण र छाउपडी प्रथामा बस्ने किशोरीको पीडालाई देखाइएको लेखक तथा निर्देशक शिवम अधिकारी बताउँछन् । 
 
 
उनी भन्छन्, ‘ती दर्शकहरुका लागि हो ‘पञ्चायत’, जसले पञ्चायती शासनको उग्रसमय २०३१ सालतिरको पत्याउनै नसकिने इतिहास हेर्न नपाएका हुन् ।’ ‘सातवर्ष अघि बनेको स्क्रिप्ट आज आएर पर्दामा उतार्नु चानचुने कुरा होइन’, निर्देशक अधिकारी अगाडि थप्छन्- ‘निर्माताले नेपाली पहिचान चिनाउने आँट गरेकाले सात वर्षपछि भए पनि फिल्म बन्नु आफैंमा इतिहास हो ।’
 
अमेरिकाको क्यालिफोर्निया राज्यको सन् फ्रान्सिस्को शहरमा आयोजित ‘सन् फ्रान्सिस्को चलचित्र महोत्सव’ मा ‘पञ्चायत’ ले बिदेशी भाषाको ‘उत्कृष्ट चलचित्र’ विधामा र ‘उत्कृष्ट मुख्य अभिनेत्री’ विधामा पुरस्कार जित्न सफल भएको थियो । 
 
‘दर्शकले ‘झोला’ पछि मौलिक नेपालीपनको फिल्म हेर्न पाएका छैनन् । त्यो भोक अब ‘पञ्चायत’ ले मेटाउने छ । ५० वर्ष अघिको शासनकाल, जुन आफैंमा एकतन्त्रिय थियो । त्यसभित्रको नदेखिएको र नलेखिएको कथा ‘पञ्चायत’ मा छ ।’ प्रस्तुतकर्ता गणेश गिरीले भने । 
 
 
फिल्मका कार्यकारी निर्माता रवि अधिकारी नेपाली कला, सँस्कृति, परम्परा र सामाजिक व्यवस्थालाई विश्व सामु चिनाउने ‘पञ्चायत’ अर्गानिक फिल्म रहेको बताउँछन् । अभिनेता सरोज खनालले फिल्ममा आफूले विना पारिश्रमिक काम गरेको खुलाए । 
 
उनले भने, ‘इतिहास बोकेकाले मैले फिल्म गरे बापत एक रुपैयाँ पनि लिइनँ ।’ यस्तै, अभिनेत्री नीता ढंगानाले आफू ‘पञ्चायत’ बाट आशावादी रहेको बताइन् । उनी भन्छिन्, ‘मसान’ पछि सबैभन्दा बढी तारिफ ‘पञ्चायत’ बाट पाएकी छु, जसले मलाई विश्वकै उत्कृष्ट अवार्ड दिलायो । फिल्मले कस्तो भाव बोकेको छ भन्ने त्यसैबाट झल्किन्छ ।’ 
 
 
यो फिल्ममा सरोज र नीताका अलवा रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतको अभिनय रहेको छ । 
 
फिल्मलाई सुशान्त श्रेष्ठ र शंकर सुवेदीले निर्माण गरेका हुन् । टंक बुढाथोकीको संगीत र रामेश्वर कार्कीको छायांकन रहेको फिल्मलाई विपिन मल्लले सम्पादन गरेका हुन् । 
Most Visited News (monthly)