मिति : २०८१ वैशाख ५, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(17 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘कृ’ को ६ दिने कलेक्सन ५ करोड ग्रस, ‘लगानी सुरक्षित भयो’ : निर्माता गिरी

फिल्मीखबर, काठमाण्डौ, 2018/02/15
शुक्रवारबाट देशभर प्रदर्शनमा उत्रिएको युवा स्टार अनमोल केसी अभिनीत फिल्म ‘कृ’ को ६ दिने कलेक्सन रिपोर्ट सार्वजनिक भएको छ । बिहीवार राजधानीमा पत्रकारसँग भेटघाट गर्दै निर्माण यूनिटले फिल्मको कलेक्सन रिपोर्ट सार्वजनिक गरेको हो । 
 
दर्शकलाई धन्यवाद दिँदै निर्माता सुवास गिरीले फिल्मको ६ दिने कलेक्सन ५ करोड ४४ लाख रहेको बताए । यसबाट निर्माताले २ करोड ४० लाख शेयर प्राप्त गर्नेछन् । 
 
 
‘कृ’ ले पहिलो दिन देशभरबाट कूल ९५ लाख ६५ हजार २ सय ४८ रुपैयाँ, दोस्रो दिन १ करोड ७७ लाख ६४ हजार ७ सय ६३ रुपैयाँ, तेस्रो दिन ६६ लाख ६८ हजार ७ सय २५ रुपैयाँ, चौथो दिन ५६ लाख १९ हजार ९ सय ९३ रुपैयाँ, पाँचौ दिन ८५ लाख ७९ हजार ५ सय ४५ रुपैयाँ र छैठौं दिन ६२ लाख ९५ हजार ८ सय ६० रुपैयाँ कलेक्सन गरेको निर्माता गिरीले जानकारी दिए । 
 
यस्तै, निर्माताले फिल्मको ओभरसिज राइट्स ८० लाख र ब्राण्डबाट ५० लाख रुपैयाँ हात पारिसकेका छन् । निर्माता गिरीले भने, ‘६ दिनेको कलेक्सनसँगै अब हामी सुरक्षित भएका छौ । अब फिल्मले गर्ने व्यापार हामीलाई नाफा हुनेछ ।’ पहिलो हप्ता ‘कृ’ ले देशभर १ सय १८ पर्दा पाएको थियो । 
 
फिल्मका अर्का निर्माता भुवन केसीले ‘कृ’ लाई मिलेको दर्शकको उत्साहजनक साथले आगामी दिनमा अझ राम्रो फिल्म बनाउन हौसला मिलेको बताए । उनले भने, ‘हामीले निकै महंगो लागतमा फिल्म बनायौं । हामीलाई के थाहा थियो भने राम्रो फिल्म बनाए दर्शकले मन पराउनुहुन्छ । ‘कृ’ ले त्यो प्रमाणित गरेको छ । दर्शकको यो साथले भोलीका दिनमा झन ठूलो लागतमा फिल्म निर्माण गर्ने जोश थपेको छ ।’ 
 
 
फिल्मको कलेक्सन रिपोर्ट सार्वजनिक कार्यक्रममा अनमोल केसी भने अस्वस्थ भएका कारण उपस्थित भएनन् । नायिका अदिती बुढाथोकीले आफूलाई पहिलो फिल्मबाट मिलेको उत्कृष्ट प्रतिक्रियाले उत्साहित भएको बताइन् । यस्तै, निर्देशक सुरेन्द्र पौडेलले आफ्नो मिहिनेत रुचाइदिएकोमा दर्शकलाई धन्यवाद दिए । ‘कृ’ भोली शुक्रवारबाट दोस्रो हप्तामा लाग्दैछ । 
 
सुवास इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको फिल्मको प्रस्तुतकर्ता द सुपर काजोल फिल्मस् हो । कमल गिरी कार्यकारी निर्माता रहेको फिल्मका सह–निर्माता श्री पराजुली हुन् ।
 
‘कृ’ मा अनमोल केसी, अदिती बुढाथोकी, अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतका कलाकारको मुख्य भूमिका छ ।